सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान
2020/08/16, 5:06
 
ct scan

सेती प्रादेशिक अस्पतालले सिटी स्क्यान मेसिन खरिदका लागि बोलपत्र आह्वान गरेको छ। अस्पतालले आज ई–बिडिङ प्रणाली मार्फत सिटी स्क्यान खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

४५ दिने सूचना जारी गर्दै आह्वान गरिएको बोलपत्र अनुसार इच्छुक आपुर्तिकर्ताले आउँदोे असोज १४ गते दिउँसो दुई बजेभित्र आवश्यक कागजपत्र सहित बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश भएको तीन महिना भित्र अस्पतालले सम्बन्धित आपुर्तिकर्तासँग सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गर्नेछ ।

सिटी स्क्यान मेसिन आपुर्तिक गर्ने सप्लायर्सले २२ लाख २३ हजार पाँच सय बराबरको बैँक जमानत राख्नुपर्नेछ । सुदूरपश्चिम सरकारले सेती अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्ने भन्दै साढे ८ करोड बजेट विनियोजन गरेको थियो । तर खरिद गर्ने÷नगर्ने विषयमा विवाद भएपछि प्रक्रिया अगाडी बढ्न सकेको छैन् ।

चालु वर्षमा प्रदेश सरकारले सिटी स्क्यान मेसिन खरिदकै लागि ९ करोड बजेट छुट्याएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले भौतिक संचरना र समय अभावका कारण मेसिन खरिद गर्न नसकिने गत वर्ष विवाद भएको थियो ।

अस्पतालले पर्याप्त समय नभएको भन्दै सिटी स्क्यान खरिदका लागि छुट्याईएको साढे ८ करोड बजेटबाट अन्य अति आवश्यक उपकरण खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग निर्देशन मागेको थियो । तर मन्त्रालयले दिन अस्वीकार गरेपछि विवाद भएको थियो ।

अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समितिका बिच आपसी समझदारी जुट्न नसक्दा सिटी स्क्यान खरिदको विषय थप जटिल बनेको थियो । तर अहिले आर्थिक वर्षको सुरुमै प्रक्रिया थालिएकाले कुनै बाधा नआएमा सिटी स्क्यान मेसिन खरिद हुने विश्वास व्यक्त गरिएको छ ।

प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान मेसिन अति आवश्यक उपकरण हो । अहिले सेतीमा सिटी स्क्यान मेसिन नहुँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा सिटी स्क्यान गर्न बाध्य छन् । सेतीमै सो सेवा सुचारु भएमा प्रदेशवासीलाई सहज हुने विश्वास गरिएको छ ।