बझाङमा विद्यालयलाई लकडाउनले छोएन
2020/08/19, 12:05
 
corona

कोरोना संक्रमणको त्रासले देशभरका अधिकांश शैक्षिक संस्था चैत पहिलो सातापछि ठप्पप्रायः छन, तर बझाङको साइपाल गाउँपालिकाका विद्यालयमा भने नियमित कक्षा चलेको छ।  अघिल्ला वर्ष बझाङका विद्यालय चैतदेखि साउनसम्म बन्द हुन्थे। विद्यार्थी–शिक्षक यार्चा संकलनका लागि लेकतिर जाने हुँदा विद्यालयमा साउन पहिलो साता मात्रै भर्ना सुरु हुन्थ्यो।

यो वर्ष उल्टो भयो। लकडाउनले देशभर शैक्षिक गतिविधि ठप्प हुँदा दुर्गमको साइपालका विद्यालयलाई भने बन्दले छोएन। यहाँ गत वैशाख २ बाटै भर्ना सुरु भएपछि लगत्तै पढाइ पनि थालियो। सरकारले कोरोना महामारी नियन्त्रणका लागि विद्यालय बन्द गर्न निर्देशन दिए पनि साइपालमा जोखिम नरहेको भन्दै अभिभावकहरूले नै खोल्न दबाब दिएका गाउँपालिकाले जनाएको छ।

बाहिरबाट कोही पनि नआउने र स्थानीय पनि ठूलै काम पर्दा मात्रै बाहिर जाने भएकाले विद्यालय व्यवस्थापन समितिहरूले स्वस्फूर्त पठनपाठन सुरु गरेको गाउँपालिकाको शिक्षा इकाईका प्रमुख नरबहादुर धामीले बताए। उनले भने, ‘साइपालमा कोरोनाको जोखिम छैन। हामी स्कुल चलाउँछौं भन्न थाले,’ ‘सबै अभिभावकको जोड खोल्नु पर्छ भन्ने भयो।’

साइपालमा हालसम्म कसैलाई पनि कोरोना संक्रमण नभएको र आवतजावत पनि नहुने भएकाले कक्षा सञ्चालनमा समस्या नभएको शिक्षकहरू बताउँछन्। ‘यहाँका विद्यालयहरूमा लकडाउनको कुनै असर परेन भन्दा हुन्छ,’ धुली माविका शिक्षक धनबहादुर विष्टले भने, ‘अरू बेला भए यार्चाका कारण विद्यालय बन्द गर्नुपथ्र्यो, यो वर्ष यार्चा टिप्न बन्द भयो, विद्यालयचाहिँ समयमै खुले।’ प्रशासनको कडाइका कारण सीमित संख्यामा गाउँले यार्चा टिप्न गएको र विद्यार्थीहरू नगएकाले कक्षा नियमित रहेको उनले बताए।

अन्तका विद्यालयहरू बन्द भएकाले गाउँपालिकाभन्दा बाहिर पढ्ने विद्यार्थी पनि यहीँकै विद्यालयहरूमा भर्ना भएका छन्। यसले विद्यार्थी भर्ना दर बढेको शिक्षा इकाई प्रमुख धामीले बताए। बाहिर पढिरहेकाहरू पनि गाउँमै फर्किए पछि पहिलेको भन्दा १५ प्रतिशत बढी विद्यार्थी यो वर्ष भर्ना भएको उनले बताए। उनले यस वर्ष विद्यार्थीहरूको नियमित हाजिर दर पनि बढेको बताए। साइपालमा ३ मावि, ५ प्रावि र २ निजी विद्यालय छन।

विद्यार्थी संख्या १ हजार ३ सय ४७ छ। गर्मीमा यार्चा संकलन र हिउँदमा भारी हिमपातले पढाइ बन्द हुने भएकाले कहिल्यै पूरा कोर्स पढ्न नपाएका विद्यार्थीहरू यसपटक खुसी छन्। ९ कक्षा पुग्दासम्म जहिल्यै पूरा कोर्स नपढेरै परीक्षा दिने गरेको धुलीकी छात्रा मुसुरी रोकायाले बताइन्। कोरोनाको जोखिम न्यून रहेको र अभिभावकहरूले पनि दबाब दिएकाले पठनपाठन बन्द नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए।