बझाङ अस्पतालमा ब्लड बैंक सञ्‍चालन
2020/08/19, 8:09
 
blood donation

लामो समयदेखि रगतको अभाव खेप्दै आएको बझाङ अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको छ । यससँगै रगतको अभावमा ज्यानै जानेसम्मको अवस्था अन्त्य हुने आशा गरिएको छ । बुधबार प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहले ब्लड बैंकको उद्घाटन गरेका हुन् । जयपृथ्वी नगरपालिका र सिंहको पहलमा स्थानीय क्षेत्र पूर्वाधार विकास कोषको ५० लाख रुपैयाँ लागतमा ब्लड बैंक स्थापना भएको हो । ‘चिकित्सक आफैंले रगत दिएर बिरामीको अप्रेसन गर्नुपरेका थुप्रै घटना छन्,’ जिल्ला अस्पतालका डा।मिलन खड्काले भने, ‘यहाँ त्यस्तो कर्मचारी सायदै होला, जसले आपत्कालीन अवस्थामा रक्तदान नगरेको होस् ।’

उनका अनुसार जिल्ला अस्पतालमा आउने बिरामीमध्ये सातामा कम्तीमा २ जनालाई रगतको आवश्यकता पर्ने गरेको छ । सुत्केरी, शल्यक्रिया गर्नुपर्ने, एनिमिया, ल्युकिमिया, रक्त क्यान्सर भएका तथा गम्भीर खालको दुर्घटनामा परेकाहरुलाई तत्काल रगत आवश्यक पर्ने गरेको छ । यस्तोमा सैनिक तथा प्रहरीहरुले रक्तदान गर्दै आएका थिए । ब्लड बैंकमा दाताबाट संकलित रगत ३–६ महिनासम्म सुरक्षित भण्डारण गरेर राख्न सकिनेछ । एकपटकमा ४० पिन्ट रगत भण्डारण गर्न सक्ने बैंकको क्षमता छ । यसअघि दाताबाट तत्काल रगत लिएर बिरामीलाई दिने गरिएको थियो । ब्लड बैंक स्थापनासँगै यो समस्या पनि हटेको छ ।

रगतमा भएको राता रक्तकोष र प्लाज्मालाई छुट्याउन सक्ने प्रविधि पनि जडान गरिएकोले बिरामीलाई आवश्यक रगतमात्रै दिन सकिने जिल्ला अस्पतालका प्रमुख चिकित्सक सन्दीप ओखेडाले बताए । ‘आवश्यक रगत उपलब्ध हुने–नहुने निश्चित नहुँदा हामीलाई जटिल खालका केसमा हात हाल्न गाह्रो थियो । अब ढुक्क भएर काम गर्न सकिने भयो,’ उनले भने । प्रतिनिधिसभा सदस्य सिंहले रगतको अभावमा अब कसैले छट्पटाउनु नपर्ने बताउँदै आगामी वर्षभित्रै जिल्ला अस्पतालमा आईसीयू सेवासमेत सुरु गरिने बताए ।