९६ वर्षीय भट्ट भन्छनः ‘कोरोना सामान्य रुघाखोकी न हो’
2020/08/22, 7:19
corona

बैतडीको सुर्नाया गाउँपालिका–३ मा जन्मिएका रघुनाथ भट्ट गत असारदेखि ९६ वर्षका भए। हैजा, दादुराजस्ता सरुवा रोगको महामारी झेलेका उनी कोरोनाबारे के भन्छन् ? उनीसँग शिवराज भट्टले गरेको कुराकानी ः
 
कोरोनाबारे तपाईंलाई के थाहा छ ?
कोरोना प्रकृतिले दिएको रोग हो। अहिले हावापानी बिग्रियो। जसले जे पायो त्यही खान थाले। भोजनको राम्रो व्यवस्था भएन भने यस्ता महामारी बेला–बेला आइरहन्छन्।

तपाईंलाई कोरोनाबारे कसले भन्यो ?
मैले रेडियोमा सुनें। टीभीमा हेरें। तब मैले कोरोनाबारे थाहा पाएँ। परिवारका सदस्यले पनि कोरोनाबारे केही कुरा भनेका छन्। तर, मैले समाचार सुनेरै थाहा पाएको हुँ।

सरकारका मान्छे यसो गरौं, उसो गरौं भन्दै आएका छन् कि छैनन् ?
आएका छन्। बाहिर नघुम्नुस्। मास्क लगाउनुस्। हात धोएर मात्र घरभित्र पसौं भनिरहेका छन्। सरकारका मान्छेले भनेका कुरा मान्नुप¥यो। तर, हामीले मानिरहेका छैनौं।

कोरोनाबाट जोगिन के–के गर्नुपर्ला ?
तातोपानी पिउने, बेसारपानी पिउने। शरीरलाई तागत लाग्ने कुरा खाने। यो सामान्य रुघाखोकी त हो। पहिला–पहिला मान्छेहरू जडीबुटी खाएर महामारी नियन्त्रण गर्थे। कोरोनाबाट डराउने होइन, जोगिने हो। आफ्नो शरीरलाई शक्तिशाली बनाउने हो।

तपाईंले यस्ता कुरा कसरी थाहा पाउनुभयो ?
डाक्टरहरूले पनि भन्दै आएका छन्। आफ्ना मान्छेले पनि भनेका छन्। यी कुरा त हाम्रो सनातनदेखि चलेका पनि हुन्। रोग लाग्नबाट बच्न सन्तुलित भोजन सेवन गर्ने हो। अहिले त जे पायो त्यो खाएका छन् अनी महामारी हुँदैन ?

तपाईंले यो पालना गर्नु भएको छ ?
पालना गरेको छु। बिहान उठ्नेबित्तिकै गुर्जो हालेको चिया पिउँछु। तातोपानी पनि पिउँछु। कागतीपानीमा जोड दिन्छु। दिनमा फलफूल पनि खान्छु। हात धुने काम पटक–पटक गर्छु।

बेसारपानीबारे कसरी थाहा पाउनुभयो ?
सनातनदेखि नै हरेकका घरमा हल्दी (बेसार) हुन्थ्यो। हाम्रा पालामा रुघाखोकी लाग्यो भने हल्दी खान्थे। शरीरको कुनै अंगमा चोटपटक लाग्यो भने पनि हल्दी र दुबो पिसेर पकाएर सेक्थे। अनि सञ्चो हुन्थ्यो। प्रधानमन्त्रीले बेसारपानी पिऔं भनेपछि धेरैले त्यसलाई मजाकमा लिए। तर हल्दी औषधि हो। त्यसैले दूधमा, पानीमा जेमा सजिलो हुन्छ, खानुपर्छ।

तपाईंलाई कोरोनासँग डर लाग्दैन ?
किन डराउने ? डरायो भने झन् कमजोर भइन्छ। हिम्मत बढाउनुपर्छ। कोरोना लाग्नबाट जोगिनुस् अनि लागिहाले नडराउनुस्।

यो कोरोना कहाँबाट आयो होला ?
चीनबाट आयो होला।

यसअघि कुनै महामारीमा मास्क लगाएको सम्झना छ कि ?
महामारीमै त मास्क लगाएनन्। तर, मास्क लगाउनु भनेको स्वस्थ रहन हो। एक जनाको सास (श्वास) मा भएको बिराम अर्कोलाई नसर्ने भनेको त नाकमुख छोप्नु हो। म बैतडीमा एउटा मन्दिरको पुजारी थिएँ। जब हामी पूजा लगाउथ्यौं तब रुमालले मुखनाक छाप्थ्यौं। यो कुरा सनातन धर्ममा पनि उल्लेख छ। त्यो किन पनि हो भने मन्दिरको मुख्य थान वर्षमा एक–दुई पटक खोलिन्थ्यो। त्यहाँ कुनै रोग वा बास्ना छ भने त्यसले पुजारी बिरामी नहोस्, भगवान्को गाथमा पनि पुजारीको रोग नफैलियोस् भनेर यस्तो गरिएको हो। रोगबाट बच्ने हाम्रा परम्परागत तरिका अहिले मास्कका रूपमा आयो।

लकडाउनबारे के जानकारी छ ?
खासै छैन। तर, लकडाउन भनेको तपस्या हो जस्तो लाग्छ। यसले मानिसहरूलाई शक्ति दिन्छ, रोग सर्दैन।

अहिले जताततै ठप्प जस्तै छ। के–के मा असर परेको होला ?
किसानलाई असर परेको छ। उसको चिजबिज बजारमा पुग्न सकेको छैन। मेरा पनि छोराहरूको व्यापार छ। उनीहरू सबैको ठप्प छ। मानिसहरू भेट गर्न पाइरहेका छैनन्। गरिब नागरिकले खान पाएको छैन। दैनिक मजदुरी गर्नेलाई फरक पारेको छ। कोरोनाले असर नपारेको कुनै ठाउँ छैन।

सरकारले घरभित्रै रोकेको राम्रो कि निस्किन दिएको ?
अब त निस्किन दिए राम्रो हो। मान्छेहरू भोकले मर्न थाले। व्यापारीहरू ऋणले मर्न थाले। भेटघाट हुन छोड्यो। घरमै रोकेर केही प्रगति हुँदैन। सरकारले यसको औषधि खोज्नुप¥यो।

पहिला पनि यस्तो महामारी हुन्थ्योे ?
हुन्थ्यो नि। हैजा हुन्थ्यो, सितला हुन्थ्यो। हैजा लागेर मरेकोलाई खाल्टोमा पुरिन्थ्यो। हैजाको कीटाणु म¥यो भनेपछि मात्रै खाल्टोबाट निकालेर दागबत्ती दिइन्थ्यो। हैजाले कति बालबालिका मरे, गिन्ती छैन। यस्तै सितला भनेको मानिसको शरीर पाक्ने हो। पीप चुहिन्थ्यो शरीरबाट। सर्ने रोग भएकाले सितला भएको घरमा कोही पनि जाँदैनथे।

त्यतिबेला कसरी महामारीबाट जोगिन्थे ?
जडीबुटी नै दबाई हुन्थ्यो। वैद्यहरू हुन्थे उनीहरूले दबाई दिन्थे। हैजाको दबाई त मलाई थाहा छ। भैंसीको बिगौती दूध हैजाको अचुक औषधि हो। बिगौती दूध सुकाएर (जमाएर) डब्बामा राख्थे। पहाडमा भैंसी नपाल्ने कमै हुन्थे। हरेकको घरमा भैंसीको बिगौती दूध पाउथ्यो, सुकाएर राखेको। अनि हैजा भएकोलाई त्यो दूध घोलेर पिलाइन्थ्यो।

सरकारसँग त्यतिबेला हैजाको कुनै दबाई नै थिएन। सितलाका लागि त तितेफाँपर भन्ने जडीबुटी हुन्थ्यो। त्यसको पातको रस लगाएर सिताला निको भयो। त्यतिबेला कुलत थिएन। गोरस (दूध, घिउ दही) हरेकको घरमा हुन्थ्यो। अनि महामारी पनि केही क्षति गरेपछि जडीबुटीले नै नियन्त्रणमा आउँथ्यो।

कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासप्रति के भन्नुहुन्छ ?
सरकारले राम्रै काम गरेको छ। योभन्दा बढी सरकारले के गर्न सक्छ र ? नयाँ रोग हो। विश्वका ठूला देशले पनि यसमा केही गर्न सकेका छैनन्। यसको औषधि पत्ता लागेको छैन भने सरकारले अरू के गरोस्। सरकारले अस्पताल खोलकै छन्, जाँच पनि गरेकै छ। सरकारलाई मात्र भनेर केही हुन्न, हामी सबै सचेत हुनुपर्छ।

तपाईं कोरोना नलागोस् भनेर के गर्नुहुन्छ ?
मलाई नलागोस् भन्छु। छिट्टै यो महामारी गई हालोस् भनेर प्रार्थना गर्छु। बिहान चियामा गुर्जो हालेर खान्छु। तातोपानी र बेसार खान्छु। अरू खास केही गर्दिनँ। संक्रमण भइहाल्यो भने पनि म जित्छु जस्तो लाग्छ।

तपाईंको विचारमा यो कोरोना कहिलेसम्म रहला ?
५, ७ महिना अझै रहला। किनभने विश्वमा यो विस्तारै कम भइरहेको छ।

यसबाट जोगिन सरकार र नागरिकले के गर्नुपर्ला ?
पहिलो कुरा त, हामी नागरिक हौं। हामीले सरकारले भनेको कुरा मान्नुपर्छ। सरुवा रोग एक जनामा भयो भने त्योे देशभर फैलिन्छ। त्यसैले कोही पनि नागरिकको दायित्वबाट पन्छिन हुन्न। अनि सरकारले यसको औषधि पत्ता लगाएर जनतालाई दिनुपर्छ। उसले अस्पतालहरू थप्नुपर्छ । (अन्नपूर्ण पोस्टबाट साभार)