कोरोना परिक्षणमा खटिएका प्रयोगशालाकर्मीलाई विभेदः “न सुविधा, न आराम” 
2020/08/22, 10:10
 
corona

कोराना संक्रमितको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले सात दिनमा आराम गर्न पाउँछन् । संक्रमितमा खटिए वाफत उनीहरुले १४ दिन क्वारेन्टाईनमा बस्ने सुविधा र त्यो अवधिको पनि तलव र भत्ता पाउँछन् । र हरेक १४ दिनपछि काममा फर्किदा उनीहरुको पीसीआर परिक्षण हुन्छ । तर २४ सै घण्टा प्रयोगशालामा कोरोना संक्रमितको स्वाव परीक्षण खटिने प्रयोगशालाकर्मीले भने न त आराम गर्न पाउँछन् । न त सुविधा नै ।

1

अझै रोचक कुरा त के भने प्रयोगशालामै खटिएका उनीहरुको पीसीआर बिरलै परीक्षण हुन्छ । जवकी सामान्य लक्षण नै नदेखिएका र पहूँचका भरमा जो सुकैले सहजै पीसीआर परीक्षण गरिरहेको चर्चा सर्वत्र छ । सबैक्षेत्रमा काम गर्नेहरु कोरोनाको संक्रमणमा परिसकेका छन् । अहिलेसम्म प्रयोगशालामा काम गर्नेहरु सुरक्षित थिए । अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पाईयो । जसमा पाँच जना प्रयोशालाकर्मी छन् । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा खटिएकी एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । यी दुई घट्नाले प्रयोगशालामा काम गर्नेहरु पनि सुरक्षित नरहेको देखाएको छ । 

1

सुदूरपश्चिममा हालसम्म तीन वटा पीसीआर प्रयोगशाला सञ्चालनमा छन् । सेती प्रादेशिक अस्पतालमा सञ्चालित प्रयोगशालामा १० जना कार्यरत छन् । डडेल्धुरा अस्पतालमा चार जना र डोटीमा पाँच जना प्रयोगशालाकर्मी छन् । यति सिमित संख्यामा रहेका उनीहरुलाई आराम गर्ने समय नै छैन । उल्टै सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख रमेश शाही र डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुषाललाई स्वास्थ्य निर्देशनालय दिपायलले कहिले पीसीआर मेसिन जडान तथा सञ्चालनका लागि डोटी पठाउँछ । कहिले बैतडी । 

5

स्वाव संकलन तिव्र भएका कारण उनीहरु रातभरी प्रयोगशालामै खटिन बाध्य छन् । डडेल्धुरा प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मीहरु विहीवार राति २ बजे सम्म पीसीआर परीक्षणका लागि खटिएका थिए । यता सेती प्रादेशिक अस्पतालका प्रयोगशालाकर्मीहरु राति ११ बजेसम्म ल्यावमै थिए । पीसीआर परीक्षणका लागि प्रेसर बढेको छ, सेती प्रादेशिक अस्पतालको प्रयोगशाला प्रमुख शाही भन्छन्, ल्यावमा काम गर्नेको संख्या थपिएको छैन । स्वाव संकलन भने तिव्र भएको छ । जस कारण प्रयोगशालामा काम गर्नेहरुमा कामको प्रेसर बढेको छ । शाहीले तत्काल सबै प्रयोगशालामा जनशक्ती थप्न आवश्यक भएको बताए । 

2

संक्रमणको दर वृद्धिसंगै स्वाव संकलन पनि तिव्र भएको छ । तर  जनशक्ति भने थपिएको छैन, शाही भन्छन्, कुनै प्रयोगशालामा काम गर्ने व्यक्तिमा संक्रमण देखिए प्रयोगशाला नै बन्द हुनेछ । त्यसपछिको परिणाम भयावह हुन सक्छ । डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुषाल सिमित संख्याका बाबजुत पनि प्रयोगशालाकर्मीले रातदिन खटेर नतिजा दिईरहेको बताए । जनस्वास्थ्य मापदण्ड चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीका लागि एउटै हो, शाही भन्छन्, तर त्यो मापदण्ड प्रयोगशालाकर्मीमा भने लागु भएको छैन । 

2

चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सात दिन कामपछि १४ दिन क्वारेन्टाईनमा बस्ने सुविधा पाउँछन । तर प्रयोगशाला स्थापना भएको दिनदेखि प्रयोगशालाकर्मीहरुले भने विदा पनि पाएका छैनन । उनीहरुले रातदिन खटिनु परेको छ । प्रयोगशालाकर्मीहरुको न व्याकअप छ । न वैकल्पिक व्यवस्था । उनीहरु संक्रमित भए प्रयोगशाला नै बन्द हुने अवस्था छ, डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख भुषाल भन्छन्, यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।