निसर्ग हस्पिटलको आईसियु सिल, सम्पर्कमा आएका स्वास्थ्यकर्मी आईसोलेसनमा, अन्य सेवाहरु भने सञ्चालनमा 
2020/08/25, 9:44
 
corona

धनगढीको निसर्ग हस्पिटलको आईसियुमा उपचाररत एक जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आईसियु सिल गरिएको छ । आज साँझ आईसियुमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आईसियु सिल गरिएको हो । तीन दिनदेखि आईसियुमा उपचाररत ती बिरामीलाई भेन्टिलेटरमा राखिएको थियो ।  

संक्रमित बिरामीलाई सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा सारिएको छ । संक्रमित भेटिएपछि हस्पिटलले आफ्नो आईसियु सेवा बन्द गरेको छ । आईसियु सिल गरिएको छ । अन्य सम्पूर्ण सेवाहरु भने सुचारु रहेको हस्पिटलले जनाएको छ । आईसियु वाहेकका अन्य स्वास्थ्य सेवाहरु यथावत रहेको अस्पताल प्रशासनले जनाएको छ । आईसियु बन्द गरिएको र अन्य सेवाहरु सेनेटाईज गरेपछि सञ्चालन भएको अस्पतालका अध्यक्ष तिर्थ पन्तले जानकारी दिए । 

कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई आज साँझ होटलमा आईसोलेसनमा राखिएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भोली पीसीआर परीक्षण गर्ने बताईएको छ । आईसियुमा उपचारत विरामीलाई सेतीको कोरोना अस्पतालमा सारेपछि सेनेटाईज गरेर अस्पताललाई जोखिम रहित बनाईएको छ । अब कोरोनाको जोखिम नभएकोले अन्य सेवा प्रवाहमा कुनै समस्या नरहेको अस्पतालका अध्यक्ष पन्तले बताए ।