खोपका लागि छिमेकीसँग चीनले राख्यो यस्तो सर्त
2020/08/29, 2:47
 
corona khop

कोरोना भाइरस महामारीका बेला चीनले विश्वभर स्वास्थ्य सामग्री उपलब्ध गरायो। कोरोनाविरुद्धको खोप विकासमा पनि चीन सबैभन्दा अगाडि छ। उसले आफ्नो खोप ‘सार्वजनिक सम्पत्ति’ हुने बाचा पनि गरेको छ।

गत सोमबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस र म्यानमारका समकक्षीहरुलाई खोप उपलब्ध गराउँदा प्राथमिकतामा राख्ने भन्दै आश्वस्त पनि पारे। तर, खोपका लागि बेइजिङले ती मुलुकसँग सर्त पनि राखेको बताइएको छ।

सिन्ह्वाका एक पत्रकारले चिनियाँ सामाजिक सञ्जालमा जनाएअनुसार खोप पाउन ती आसियान मुलुकले विश्व स्वास्थ्य संगठनलाई समर्थन गर्नुपर्ने सर्त चीनले अघि सारेको छ।

महामारीका बेला एसियादेखि युरोप र अफ्रिकासम्म मास्क, पीपीईलगायत सामग्री पुर्‍याएको चीन यतिबेला अमेरिका बाहिरिएपछि विश्व स्वास्थ्य संगठनमा नेतृत्वदायी भूमिका खेल्न लालायित छ।

त्यस्तै मेकङ नदीसम्बन्धी मुद्दाहरुलाई पनि सर्तका रुपमा बेइजिङले अघि सार्नसक्ने हङकङ र सिंगापुरका सञ्चारमाध्यमले जनाएका छन्। भियतनाम, थाइल्यान्ड र कम्बोडियाले मेकङ नदीको बहाव कम हुनुमा चिनियाँ बाँध जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन्।

चीनले पाकिस्तानलाई ४ करोड डोज खोप उपलब्ध गराउने बाचा गरेको छ। त्यस्तै नेपाल, अफगानिस्तान र फिलिपिन्सलाई पनि खोप दिने प्रतिबद्धता चीनले गरेको छ।

चीनले अफ्रिकामा पनि सहयोगस्वरुप खोप उपलब्ध गराउने बताएको छ। चीनले खोपको प्रतिबद्धता जनाएका मुलुकहरुको जम्मा जनसंख्या करिब २ अर्ब हुन आउँछ। तर, बेइजिङले आफ्ना नागरिकलाई लगाइसकेपछि मात्र अन्य मुलुकमा खोप उपलब्ध गराउँछ कि पहिले नै गराउँछ, स्पष्ट छैन।

खोप विकास गरिरहेको सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले नोभेम्बर र डिसेम्बरमा सुरुवाती खोप उपलब्ध हुने बताएको छ। सुरुमा स्वास्थ्यकर्मी र अत्यावश्यक क्षेत्रका कामदारलाई खोप लगाइने बताइएको छ।

सो कम्पनीले हाल अर्जेन्टिनामा खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ। सिनोफार्मका अध्यक्ष लिऊ चिङचेनले दुई डोज खोपको मूल्य १ हजार युआन (१४५ डलर) पर्ने बताएका छन्। एसिया टाइम्सबाट