धनगढी उप–महानगरपालिकाद्धारा संचालित नमुना आईसोलेशनको प्रशंसा, घर फर्किने महिला भन्छन्ः घरभन्दा वढी सेवा सुविधा पाईयो
2020/08/30, 10:45
 
corona

धनगढी उप–महानगरपालिकाद्धारा संचालित आइसोलेशनबाट दिएको सेवा र आतिथ्यता प्रति त्यहाँ रहेका कोरोना भाईरस कोभिड १९ का संक्रमितहरु सन्तुष्ट देखिन्छन् । उनीहरु स्वयम् आईसोलेशनको प्रशंसा समेत गर्न थालेका छन् । धनगढी उप–महानगरपालिकाले धनगढीको बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा संचालन गरेको महिला होल्डिङ्ग र आईसोलेशनमा बसेर घर फर्किदै गरेकी धनमया लुहारले माईतमा छोरीलाई गर्ने माया यहाँ रहँदा पाएको बताईन ।

उनले भनिन्,–यहाँ पाएको सेवाका कारण पनि आधा विरामी ठिक भएजस्तो लाग्छ । धनमयाँ जस्तै धनगढी उप–महानगरपालिकाले संचालन गरेका आईसोलेशनमा बसेर गएका सबैले राम्रो प्रशंसा गरेको सुनिन्छ । ‘धनगढी उप–महानगरपालिकाले बनाएको आईसोलेशन सम्भवतः प्रदेशमै नमुना हुनुपर्छ भन्ने हाम्रो दावी हो ।’ धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले भने,–‘श्रोत साधनले भ्याए सम्म राम्रो गर्न खोजेका छौं ।’

‘धनगढी उपमहानगरपालिकाले स्थानीय हिरा भण्डारीले संचालन गरेको बी. पोलिटेक्नीकल ईन्स्टिच्यूटलाई मासिक २ लाखभन्दा बढी भाडा तिरेर महिला संक्रमितहरुका लागि छुट्टै १२ सैयाको आईसोलेशन बनाएर संचालनमा ल्याएका छौ ।’ कोभिड उप–समिति संयोजक बरालले भने, ‘ईन्ष्टिच्यूटमा प्रदेश भरीबाट उपचारका लागि धनगढी आएका अप्ठेरोमा परेका गर्भवती, सुत्केरीकोलाई राख्नका लागि १० सैयाको होल्डिङ सेन्टर पनि बनाएका छौं ।’

त्यसैगरी धनगढी उप–महानगरपालिकाले कोरोना संक्रमितका लागि वडा नं १५ मा ८७ सैयाको अलग्गै आईसोलेशन बनाएको छ । ‘धनगढी उप–महानगरपालिकाकाले संचालनमा ल्याएको आइसोलशनमा आवश्यक सबै उपकरण, स्वास्थ्यकर्मीहरुको व्यवस्था गरेका छौं ।’ बरालले भने– ‘आवश्यकता अनुसार अझै व्यवस्थित बनाउँदै लगिने छ । धनगढी उप–महानगरपालिका प्रदेशकै हव हो । त्यसैले पनि आईसोलेशनमा आवश्यकता अनुसार बेडहरुको संख्या थप गर्दै लगिने छ ।’

उप–महानगरपालिकाले महिला होल्डिङ्ग र आईसोलेशनमा बालबालिकाहरुका लागि खेलौना, खेलकुद सामाग्री, कितावहरुको पनि व्यवस्था गरेको छ । त्यसैगरी महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याड लगायतको व्यवस्था गरिएको छ । आइसोलेशनको सुरक्षा महिला सुरक्षाकर्मीहरुबाट नै गर्ने व्यवस्था मिलाईएको उप–समिति संयोजक बरालले बताए ।

आईसोलेशन संचालनका लागि धनगढीमा क्रियासिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्रका संस्थाहरु लगायतको सहयोग रहेको बरालले बताए । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले कनरीमा रहेको आईसोलेशनमा २४ जना संक्रमितहरु रहेको बताए । उपाध्यायका अनुसार  बी. पोलिटेक्निकल ईन्ष्टिच्यूटमा १८ जना छन् ।