सुदूरपश्चिममा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार
2020/09/06, 7:47
 
corona

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।

कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए । कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

प्लाज्मा सङ्कलन गरिदै
प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारका लागि रगत अभाव हुन नदिन धनगढीमा नेपाल रेडक्रस सोसाइटीले प्लाज्मा संकलन सुरु गरेको छ । हालसम्म ६ जनाले रक्तसञ्चार केन्द्र धनगढीमा प्लाज्मादान गरेका छन् ।

कोरोनामुक्त भएका ३ जना स्वास्थ्यकर्मी, २ स्थानीय र एक नेपाल प्रहरीका कर्मचारीले रक्तदान गरेका हुन् । उनीहरु मध्ये ५ जनाले शुक्रबार र १ जनाले आइतबार बिहान प्लाज्मा दिएका थिए ।