कञ्चनपुरको सार्क विद्यालयद्वारा ‘ओपन बुक’ परीक्षा
2020/09/07, 10:47
 
Education

भीमदत्त नगरपालिकास्थित सार्क विद्यालयले विद्यार्थीका लागि ‘ओपन बुक’ परीक्षा सञ्चालन गरेको छ। कोरोना भाइरस संक्रमणमा अनलाइन कक्षा सञ्चालन गरी ओपन बुक परीक्षा गरिएको हो। युरोपियन देशले अपनाएको यो परीक्षा प्रणाली नेपालमा सम्भवतः सार्क स्कुलमा पहिलो पटक प्रयोगमा ल्याइएको छ।

विद्यालयका प्रधानाध्यापक सुर्य घिमिरेले कोरोना संक्रमणमा अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीको शैक्षिक अवस्था सुधारमा टेवा पुर्‍याउन ओपन बुक परीक्षा गरिएको बताए। कोरोना संक्रमणले विद्यालय सञ्चालन हुने अवस्था नभएपछि कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गरिएको छ।

प्रधानाध्यापक घिमिरेले लकडाउनले शिक्षक विद्यार्थीको भौतिक उपस्थिति विना गरिएको अनलाइन कक्षा सञ्चालन गरी लिइएको परीक्षामा पढाइमा कमजोरी नआएको देखिएको बताए। विद्यार्थीको पढाइ तथा लेखाइमा कुनै कमि नआएको देखियो उनले जानकारी दिए।

परीक्षामा मौलिक, रचनात्मक र खोज तथा अनुसन्धानात्मक प्रश्नबाट विद्यार्थीको सिकाईको लेखाजोखा राम्ररी गरिएको पाइएको छ। विद्यालयका अनुसार परीक्षामा ८० प्रतिशत विद्यार्थीले प्रश्नपत्र लिएकामा इमेल, कुरियर र मेसेन्जरबाट उत्तर पठाएका छन्। इमेलसहितका साधनको पहुँचमा नभएका विद्यार्थीलाई वैकल्पिक माध्यमबाट परीक्षाको मापदण्डभित्र समेटिने प्रधानाध्यापक घिमिरेले जानकारी दिए। 

बीस मिनेट प्रस्तुती, २० मिनेट शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया तथा १० मिनेट विद्यार्थी/विद्यार्थीबीच अन्र्तक्रिया र बाँकी १० मिनेट निचोड तथा गृहकार्य राखिएको प्रधानाध्यापक घिमिरेले बताए। सार्कले आफ्नो छुट्टै एप्सबाट पढाइ भइरहेको र त्यसमा गृहकार्य अपलोड गर्न मिल्ने तथा गृहकार्य स्वतः जाँच हुने व्यवस्था गरिएको छ। सार्कले अन्य विद्यालयले पनि अनलाइन कक्षा र ओपन बुक परीक्षा सञ्चालन गर्न चाहेमा सार्क एप्स र आइडी तथा पासवर्ड उपलब्ध सहयोग गरिने प्रधानाध्यापक घिमिरे बताए।