बन्द विद्यालय, के गर्दैछन बालबालिका ?
2020/09/08, 3:02
 
corona

शेरबहादुर ऐर- धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का नौ वर्षीय आयुस विकको अहिलेको दिनचर्या चराको खोजी भौतारिनु रहेको छ । गाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षा ४ को परीक्षा उर्तीण गरेका उनी अहिले विद्यालय बन्द रहेका कारण दिनभरी गुलेली बोकेर चरा चहार्दै हिड्छन् ।  कोरोना संक्रमणको महामारी रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्था अहिलेसम्म खुल्न सकेका छैनन् । 

शुक्रबार मध्यान्ह १२ बजेतिर धनगढीका पत्रकारहरुको एक टोलीसंग आयुससंग भेट हुँदा उनी साथीहरुसंगै एउटा भगेरा बोकेर घर फर्किँदै थिए । पत्रकारहरुको टोलीले उनीसंग उनको दिनचर्याबारे साध्यो । उनले सहजतापूर्वक उत्तर दिए– हामीलाई विद्यालयले पाठ्यपुस्तक दिएको छ । दिनमा एक÷दुई घण्टा किताव पढ्छु, त्यसपछि चराचुरुंगी खोज्न बाहिर निस्किन्छु । उनले थपे– चरा समातेर घरामा पाल्ने गरेको छु । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ का नितेश सेट्टी गाउँमा सञ्चालनमा रहेको एउटा निजि विद्यालयमा कक्षा १ मा पढ्थे । कोरोना कहरसँगै विद्यालय बन्द भएपछि नितेश अहिले दिनभरी माछा माछेर दिन कटाउछन् । पत्रकारहरुको टोली त्यहाँ पुग्दा नितेश एउटा काठ र माछा मार्ने तार (बल्छि) बोकेर घर नजिकैको एउटा नालीमा जाँदै थिए । उनीसंगै उनका केही साथी पनि थिए । उनले भने– खै हाम्रो विद्यालय खुल्ने कुनै सुरसार देखिँदैन । मेरो काकाले माछा मारेको देखेर मलाई पनि माछा मार्न मन लाग्यो । अनि दैनिक दिनभरी माछा मारेर विताउँछु । 

कैलालीमा वर्षायामभरी सानाठूदा खोल्सा, नाला, खोला, खाडलमा बालबालिकाहरु माछा मार्न झुम्मिने गरेका छन् । खासगरी थारु समुदायका महिला, पुरुष, बालबालिका हरेक दिन खोलानाला तथा पानी जमेका सानाठूला खोल्सामा माछा मार्न व्यस्त हुने गर्दछ् ।
शुक्रबार पत्रकारहरुको टोली कैलालीको जोशीपुर गाउँपालिका पुग्दा नौ वर्षीया मुना चौधरी आमाको हेल्का बोकेर कुलरिया नदी किनारमा माछा मारिरहेकी थिइन् । पत्रकारहरुसंग मुनाले भनिन्– आजभोलि दैनिकजसो आमासँगै माछा मार्न आउँछु ।  साथीहरु पनि आउँछन् । रमाइलो हुन्छ । 

उनले आफूले माछा मार्न सिकिरहेको बताइन् । भनिन्– बिहान खाना खाएर आएका हौ । दिनभरि मार्दा दुई सय ग्राम माछा पनि मार्न सकिन । आमाले अलि धेरै माछा मार्नुभएको छ । जोशीपुरकै उषा चौधरी पनि दिनभरि आमासंगै माछा मार्न व्यस्त हुने गरेकी छिन् । उनी स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययन गर्दछिन् । उनले आफूले दिनभरी एक सय ग्राम जति माछा मारेको बताइन् । ‘विद्यालय बन्द भएर घरमै कति बस्नु ? त्यसैले आमासँगै माछा मार्न आए” उनले भनिन् । 

कैलालीका तराईका गाउँहरुमा वर्षायाममा विद्यालय बन्द भएपछि माछा मार्ने, चरा छोप्ने, गिट्टी कुट्ने, नदीमा पौडी खेल्ने, मोबाइलमा कार्टुन हेर्ने, सामाजिक सञ्जालमा झुमिने, गाईगोरु, बाख्रा चराउन जंगल जाने गर्ने गरेका छन् । यस पटक कोरोना कहरका कारण लामो समयदेखि विद्यालय बन्द रहेका कारण बालबालिकाहरु पढाईप्रति बिमुख भइरहेका छन् । 

पौडीको मजा लिँदा ज्यान गयो
गत साउन २१ गते कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ गौडीको एउटा नहरमा पौडी खेल्न गएका आठ वर्षीय आशिष रावतकोे डुवेर मृत्यु भयो । ईलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दिउँसो पौडी खेल्न गएका बालक नहरमा बेपत्ता भएका थिए । उनको शव बाङ्गेसाल भन्ने ठाउँमा फेला परेको थियो । 

साउन १९ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलंकाटापुस्थित मोहना नदीमा पौडी खेल्ने क्रममा हरिप्रसाद चौधरीका १२ वर्षीय छोरा अरुण चौधरी र रामबहादुर चौधरीका १५ वर्षीय छोरा सन्दीप चौधरीको डुबेर मृत्यु भयो । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन अहिले खुकुलो भइसकेको छ, तर विद्यालयहरु खुल्ने अहिलेसम्म कुनै सुरसार देखिएको छैन । विद्यालय बन्द हुँदा बालबालिकाहरु किताबमा भन्दा पनि अरु कुरामा बढि व्यस्त रमाउने गरेका छन् । माछा मार्ने, चराचुरुङ्गी खोज्ने, पौडी खेल्ने, गाईगोरु चराउन जंगल जाने लगायतका काममा लाग्ने गरेका छन् । 

‘दिनभरी केही काम हुँदैन । नदीखोलामा पौडी खेल्यो, बस्यो’ कैलालीको खुटिया खोलामा भेटिएका स्थानीय श्याम बोहराले भने– विद्यालय बन्द छ, घरमा कति बस्नु ? साथीभाईसंग भेटघाट र कुराकानी गर्न मिल्छ अनि रमाइलो पनि हुने भएकाले नदीखोलामा पौडी खेल्न आउने गरेका छौं । वर्षाको मौसममा नदीखोलामा पानीको बहाव कतिवेला बढ्छ भन्ने पत्तो हुँदैन । त्यस्तै, वर्षाको समयमा खालखुल्डी समेत भरिने गरेका हुन्छन् । दिनभरी घरमै बस्नु परेपछि बालबालिकाहरु नदीखोला तथा पोखरीतलाउमा पौडी खेल्न रमाउने गर्छन् । दुर्भाग्य नदीखोलामा पौडीको मजा लिने क्रममा धेरै बालबालिकाले अकालमै ज्यान गुमाएका छन् । 

शहरी क्षेत्रमा भर्चुअल क्लास
धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैय्यावेहडीकी आहाना रोकाया विहानै ७ बजे कापी कलम समातेर मामाको ल्यापटप अगाडि बस्छिन । धनगढीमा रहेको स्टेपिङ स्टोन इग्लिस स्कुलमा कक्षा ३ मा पढ्दै आएकी उनी शिक्षकले पढाएका कुरा कपिमा नोट गर्दै बस्छिन । उनले भनिन– विद्यालय बन्द छ । शिक्षकहरुले इन्टरनेटबाट पढाएको कुरा टिप्दै बस्छु । बैय्याबेहडीका शहस्र सिंह पनि बुबाको मोबाइल अगाडि राखेर कापी कलम समातेर बस्छन । विद्यालयले भर्चुअल क्लास सुरु गरेपछि उनी पनि अध्ययनमा व्यस्त हुन्छन । उनले भर्चुअल क्लासले पनि अध्यापनमा सहयोग भएको बताए ।

1

स्टेपिङ स्कूल जस्तै धनगढीका शहरी क्षेत्रका नीजि विद्यालयहरुले भर्चुयल क्लास शुरु गरेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा माध्यामिक विद्यालयले केही दिन भर्चुअल क्लास अघि बढाउने प्रयास गरेको थियो, तर प्रभावकारी हुन सकेन । विद्यालयका प्रिन्सीपल तेजबहादुर सिंहले भने –‘हामीले १० कक्षाका अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीहरुलाई भर्चुअल क्लासमा पठनपाठन गराउने तयारी गरेका थियौं ।

उनका अनुसार शारदामा कक्षा १० मा अंग्रेजी माध्यमका ४० र नेपाली माध्यमका एक सय १० विद्यार्थी रहेका छन । उनले भने –‘भर्चुअल क्लासमा अंग्रेजीका १० र नेपालीका २० विद्यार्थीमात्र सहभागि भए । सबै विद्यार्थीहरु सहभागि नभएपछि भर्चुअल क्लास बन्द गर्नुप¥यो । 
धनगढी उपमहानगरपालिकामा रहेका ७३ वटा सामुदायिक विद्यालय मध्ये ३५ विद्यालयमा मात्र इन्टरनेट सेवा उपलब्ध छ ।
प्रिन्सीपल सिंहले भने– अधिकाँस विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन । इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरुसंग पनि गुणस्तरिय मोवाइल छैन ।

दशैपछि पठनपाठन सञ्चालन गर्छौ– सामाजिक विकास मन्त्रालय
अहिले निजी विद्यालयले भर्चुयल क्लास शुरु गरेका छन् भने सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो तथा इन्टरनेटमार्फत कक्षा सञ्चालन गरिएको छ । संघीय सरकारले कोरोना भाइरसका कारण प्रभावित शिक्षाको पठनपाठन दशैंपछि सञ्चालन गर्न निर्देशन दिइसकेको जनाइएको छ ।

सोही अनुसार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि दशैपछि पठनपाठन शुरु गर्ने तयारी गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले भने –‘संघीय सरकारले दशैपछि पठनपाठन शुरु गर्न निर्देशन दिएको छ । सोही अनुसार मन्त्रालयले पनि तयारी गरिरहेको छ ।’ उनले पठनपाठन शुरु गराउन सम्बन्धित विद्यालयले पनि तत्परता देखाउनुपर्ने बताए ।
मन्त्रालयले अहिले विद्यार्थीहरुलाई पठनपाठनमै व्यस्त बनाउन शिक्षा निर्देशनालय दिपायललाई एक करोड रुपैयाँ विनियोजन गरेको छ । पठनपाठनलाई प्रभावकारी बनाउन अनलाइन कक्ष, पाठ्यसामग्री, प्रचारप्रसार लगायत गतिविधि सञ्चालन गर्न सो रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता विष्टले ९० प्रतिशत बालबालिकाको हातमा पाठयपुस्तक वितरण गरिसकिएको बताए । उनले भने– जेठमा नै पाठ्यपुस्तक वितरण गरिएको हो । माध्यामिक तहका केही पुस्तक नछापिएकोले सतप्रतिशत विद्यार्थीको हातमा पाठयपुस्तक पुग्न सकेको भने छैन ।  सरकारले चैत ११ गतेदेखि लकडाउन जारी गरेपछि भारतबाट प्रवेश गर्ने सुदूरपश्चिम प्रदेशबासीका लागि विद्यालयहरुलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको थियो । शिक्षा निर्देशनालय दीपायलका अनुसार प्रदेशमा एक हजार आठ सय ३१ वटा विद्यालयलाई क्वारेन्टाइनमा ल्याइएको थियो । निर्देशनालयलका दुर्गादत्त विष्टले भने –‘संघिय सरकारले क्वारेन्टाइन प्रयोग भएका विद्यालयलाई रोग निवारण गर्न स्पष्ट निर्देशिका नबनाउदा समस्या भएको छ ।’ उनले क्वारेन्टाइन प्रयोग भएका विद्यालयमा रोग निवारण गर्न औषधी छर्कने, सरसफाई गर्ने लगायतका काम अघि बढ्न नसकेको बताए ।

अनलाईन शिक्षामा कमजोरी
अहिले प्रविधिको प्रयोग गर्दै सरकारले अनलाईन कक्षा सञ्चालन गरिरहेको छ । सुदूरपश्चिम प्रदेशमा भने अझैं सबैतिर इन्टरनेटको पहुँच पुग्न सकेको छैन । प्रदेशमा इन्टरनेटको पहुँच न्यून भएकाले मन्त्रालयले टेलिभिजन तथा एफएम, रेडियोबाट सचेतनामूलक सामाग्री प्रशारण गरिरहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता बिष्टले सुदुरपश्चिम प्रदेशमा १२ प्रतिशत विद्यार्थी इन्टरनेटको पहुचमा रहेको बताए । उनले प्रदेशले पाठ्यक्रम भन्दा जनस्वास्थ्यस“ग जोडिएका विषयवस्तु, मानव सभ्यताको इतिहास, सामाजीक मूल्यमान्यता, रुढीवादी चिन्तन सोच हटाउने प्रकारको कार्यक्रम उत्पादन गरिरहेको बताए । 

प्रवक्ता विष्टले भने– काठमाडौंबाट अनलाइनमा आएका कुरा सुदूरपश्चिम प्रदेशमा काम गर्दैन र धनगढीबाट तयार भएका सामग्री पहाडी जिल्लामा पुग्दैन । उनले भुगोल र अवस्थाका आधारमा पाठ्यसामाग्री तयार गरिनुपर्ने र सोही अनुसार अघि बढ्नुपर्ने बताए । ‘अनलाईन क्लास चलेको छ तर, त्यसले पुग्दैन । प्रचारप्रसार अभावले गर्दा चलेको अनलाइन क्लास पनि प्रभावकारी भएन’ उनले भने । उनले संक्रमण नभएका पहाडी जिल्लामा आलोपालो कक्षा बोलाउँदै पठन पाठन सञ्चालन गरिरहेको पनि बताए ।

शिक्षा निर्देशनालय डोटीले विभिन्न जिल्लाहरुमा सचेतना कार्यक्रम अघि बढाउने, शिक्षा कलस्टर समुह तयार गरेको जनाएको छ ।  उनले भने ‘प्रदेशमा वैकल्पिक शिक्षा सञ्चालन गर्ने भनिएको छ । भर्चुअल क्लासका लागि ड्राइभ निर्देशनालयसंग राखिएको छ । अहिले स्थानीय तहहरुले ती ड्राइभ लिइरहेका छन’ निर्देशनालयका निर्देशक दुर्गा विष्टले भने । उनले प्रदशेमा ८४ प्रतिशत रेडियो तथा एफएमको पहुँच रहेकोले निर्देशनालयले एफएम रेडियोमार्फत सचेतना कार्यक्रम गरिरहेको बताए ।