डडेल्धुरामा एकै गाउँका ४० जनामा ज्वरो
2020/09/08, 10:37
 
jaro

डडेल्धुरामा एकै गाउँका ४० जनालाई भाइरल ज्वरो भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका –२ मणिलेकस्थित बगाल–भुलेउडा गाउँका ४० जनालाई भाइरल ज्वरो देखिएको हो।

उक्त जानकारी पाएपछि सोमबारबाट त्यहाँ स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरुको मलेरिया, स्क्रब टाइफस र कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको नवदुर्गा गाउँपालिका स्वास्थ्य शाखाका उपसंयोजक दिपेन्द्र बिष्टले बताए।

प्रभावित गाउँमा ज्वरो आएका ४० जनाको परिवारका सदस्य गरी ६४ जनाको मलेरियाको जाँच गरिएको छ। उनीहरु ६४ जनाकै रिपोर्ट नेगेटिभ आएको भएपनी १८ जनाको शंकापद भएकाले मलेरियाको माईक्रोस्कोपिक जाँचका लागि डडेल्धुरा अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

साथै ६४ जना मध्ये ५ जनाको स्क्रब टाइफस जाँच गर्दा उक्त जाँच पनि नेगेटिभ आएको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ। भाइरल ज्वरो आएकाहरु मध्ये जिनएक्सपर्ट ३ जना, टिबी माईक्रकोपीको लागि ६ जना र कोरोना परीक्षण लागि ७ जनाको स्वाव संकलन गरी डडेल्धुरा अस्पताल लगिएको छ।