सीताराम ओझा- २०५१ सालमा धनगढीको ऐश्वर्य विद्या निकेतनबाट एसएलसी उत्तिर्ण भएपछि उच्च शिक्षा पढ्न काठमाण्डौं हानिएका सुरेन्द्र शाही नेपाल कमर्श क्याम्पसबाट ईन्टर तथा शंकरदेव क्याम्पसबाट स्नातक र स्नाकोत्तर पास गरेर बसेका थिए । त्यो समयका चर्चित फुटबलरको रुपमा चर्चा कमाएका उनलाई जर्सी नम्बर ४ मा हेर्नेको घुँईचो नै लाग्थ्यो । उनका त्यो वेला नै धेरै फ्यान थिए ।
कलिलो उमेरदेखि नै चढेको फुटबलको नशाले उनले धनगढीमा अझ भनौं सुदुरपश्चिममा छुट्टै छाप छोडेका थिए उनले । डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जन्मिएका उनको वाल्यकाल धनगढीमै वितेको थियो । त्यही भएर पनि टाढोबाढो थिए उनी । अहिले सुदुरपश्चिम प्रदेश सभाका सदस्य रहेका कर्ण मल्ल उनका नातेदार थिए । काठमाण्डौं वसाईमा मल्ल वाहेक अरु चिनजान भएको कोही पनि थिएन् । शाही पढाई सकेर बसेका थिए । कर्ण मल्लले कतै जागीर खाउँ न त भने । उनी अक्कनवक्क भए । जागीर त खाने कहाँ खाने, कसरी खाने ? केही थाहा दिएन उनलाई । मल्लले उनलाई आफैं खबर गरेकी नेपाल बंगलादेश बैंकमा जागीर खुलेको छ । तिमी आवेदन देउ भने ।
मल्लकै सल्लाहमा आवेदन दिए । नभन्दै पहिलो पटक जागीरका लागि दिएको आवेदनमा सफल भए । धनगढी शाखाका लागि खोलिएको विज्ञापनमा लिखित र मौखिकमा पास भएपछि जुनियर अस्टिटडेन्ड पदमा बैंकको जागीर आजभन्दा १६ बर्ष सुरु गरेका थिए सुरेन्द्र शाहीले । अहिले नेपाल बंगलादेश बैंकको सुदुरपश्चिम प्रदेश प्रबन्धक रहेका सुसिल सिंह र उनको नियुक्ती एकै दिन भएको थियो । केबल फरक थियो भने ठाउँ मात्रै । सुरेन्द्र धनगढी र सुसिल नेपालगंज । तीन बर्ष जति काम गरे धनगढी शाखामा उनले । आफ्नो क्षमता पनि देखाए । आफुले पनि धेरै कुराहरु सिके । धनगढीमा शाखा खोल्ने पुरानो बैंकमै पर्छ नेपाल बंगलादेश बैंक ।
सन् २००८ मा सनराईज बैंकको शाखा धनगढी आयो । सुरेन्द्र बैंक खुलेको ६ महिनापछि सुपरभाईजरमा पदमा त्यहाँ गए । सनराईज बैंकमा सुपरभाईजर पदमा थालेको जागीर आजको दिनसम्म बैंकको प्रदेश प्रबन्धक पदमा पुगेको छ । १३ बर्षदेखि निरन्तर रुपमा सनराईज बैंकमै कार्यरत छन् शाही । १६ बर्षीय बैंकिङ पुरै सुदुरपश्चिममा वितेको छ उनको । अझ अधिकांश समय कैलाली जिल्लाका विभिन्न स्थानहरुमा ।
सुख्खडमा शाखा खोल्दा उनी शाखा प्रबन्धक भएर त्यहाँ गए । ६ महिना काम गरे । फेरि धनगढी फर्किए । यतै काम गरे । पछिल्लो दुई बर्षदेखि उनले प्रदेशको नेतृत्व सम्हालिरहेका छन् । उनको मातहतमा प्रदेशभरी १३ वटा शाखाहरु छन् । एक जुगका टप फुटबलर शाहीले खेलकुदमा लागेका बेला सिकेका थिए, विकास अनुशासन र गतिशिला । त्यही मुलमन्त्रलाई बैंकिङ करियरमा प्रयोग गरे । सफल पनि भए ।
आजको उचाईमा पुराउनमा ईमान्दारिता मात्रै नभएर अनुसाशन, कर्मचारीहरुको टीम वर्क र ग्राहकहरुको न्यानो मायालाई मान्छन् उनी । फुटबलमा जित्नका लागि गोल गर्नुपर्छ । बैंकमा सफल हुनका लागि बैंकले दिएको लक्ष्य अर्थात अंग्रेजीमा गोल पुरा गर्न सक्नुपर्छ । ईमान्दार कर्मचारीहरुकै कारण सुरेन्द्र आफ्नो फेरिएको गोलमा सफल भएको मान्छन् ।
फुटबलरबाट बैंकर बनेका उनी ग्राहकको सन्तुष्टिलाई सर्वोपरी मान्छन् । ग्राहकलाई नै मुख्य प्राथमिकतामा राख्छन् । बैंकको तर्फबाट सुख मात्रै होईन अप्ठेरामा पनि सहयोग हुनुपर्छ भन्ने सोच राख्छन् । सनराईज बैंकका ग्राहकहरुलाई अहिलेको लकडाउनको अवधिको तीन महिनाको ब्याज मिनाह गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न काम गराउँछन् उनले ।
ट्राफिक व्यवस्थापन, छात्रवृति, विद्यालयमा विद्यार्थीहरुलाई चाहिने पाठय सामाग्री लगायतका सहयोग गर्दै आएका छन् । फुटबलरबाट आफुलाई बैंकर बनाउने श्रय अहिलेका प्रदेश सभा सदस्य कर्ण मल्ललाई दिन्छन् । उनकै सहयोग र मायाले बैंकरको छवि बनेको उनी बताउँछन् । लामो समयसम्म एकै बैंकमा घनिष्ठता र सम्बन्ध गाँसिएको छ ।
त्यही भएर ग्राहकको विश्वासको जित्न सफल भए । बैंक व्यवस्थापन र ग्राहकको विश्वासकै कारण उनलाई अरु बैंकतिर जाउ भन्ने कहिल्यै पनि लागेन् । मेहनतका साथ गरिएको काम कहिल्यै पनि खेर गएन् । भनेकै र चाहेकै समयमा प्रमोशन भयो ।
अरु बैंकहरुबाट आएको अफरले उनलाई कहिल्यै पनि आकर्षित गर्न सकेन् । ४४ बर्षीय शाही ६ महिनाको हुँदा धनगढी झरेका थिए बुबा आमासँगै । बुबा वन विभागका जागीरे थिए । बुबा आमाका तीन छोराहरु । उनीसँगै आएका थिए उनका जेठा दाई जो पेशाले सडक ईन्जिनियर हुन् । माईलो आफै भईहाले । कान्छो नेपाल प्रहरीमा जागीरे । सुरेन्द्रहले विवाह गरेको पनि १५ बर्ष भई सक्यो । छोरी आठमा र छोरा ३ मा पढ्छन् । श्रीमति पनि जागीरे नै छन् फाईनान्स संस्थामा ।
धनगढीमा आएदेखिसँगै छ उनको परिवार । ८७ बर्षीय बुबा ८३ बर्षीय आमासँगै बस्छ उनका तीन जना भाईको परिवार । तीन दाजुभाईक आफ्नै काम आफ्नै दम्पति र सन्तान । तर पनि गज्जबले संयुक्त परिवारमै छन् उनीहरु सबै जना । हजुर बुबा हजुर आमादेखि नाती नातिनीसम्म एकै परिवारमा । समाज एकल परिवारतिर गईरहँदा उनको संयुक्त परिवार पनि नमुनाकै रुपमा रहेको छ । उनी मात्रै होईन उनका छोराछोरीले पनि कला संस्कृति सिक्ने मौका पाएका छन् । संस्कार सिक्नेका छन् । फरक उपमा दिन सकिन्छ यसलाई ।
सुरेन्द्रको अहिलेको परिचय बैंकर हो । तर उनलाई अझैसम्म पनि बैंकरभन्दा पनि फुटबलर भनेरै बढीले चिन्छन् । बैंकिङ करियरभन्दा पनि लामो छ उनको खेल जीवन । फुटबल खेलेर कलिलो उमेरमा आफ्नो प्रभाव जमाएका थिए उनले । खेलाडी होईन पदाधिकारीको रुपमा पनि उनले डेढ दशक विताएका छन् ।
ऐश्वर्यमा विद्यालय तह पढ्दादेखि नै उनले आफ्नो प्रभाव छोडे । जसकारण उनी १३ बर्षको उमेरमै सिनियर फुटबल टीममा परे । त्ये वेल कम उमेरको खेलाडीको रुपमा उनलाई चिन्थे । छिमेकमा फुटबल प्रशिक्षक लालवहादुर खड्का, नवीज जोशी लगायतको प्रभाव र संगतले उनलाई फुटबलले तानेको थियो ।
२०३६ सालमा स्थापना भएको युथ स्पोर्टस क्लबको नेतृत्व गर्दै उनले देशविदेशमा फुटबल खेले भने लामो समय सुदुरपश्चिमको कप्तानी गर्दै थुप्रै राष्ट्रिय प्रतियोगितामा नेतृत्व गरे । नेपालगंज, तिलोत्तमा गोल्डकप, कोकाकोला कप लगायतका प्रतियोगिता खेले । नेतृत्व पनि गरे । प्रकाश विष्ट, जेपी चन्द, राकेश कर्माचार्य, टेक भट्टराई, शंकर श्रेष्ठ, ज्योती श्रेष्ठ, यज्ञ श्रेष्ठ, ललीत चन्द, दिलिप गौतम लगायत उनका समकालीन खेलाडी थिए । तर उनीहरु सवै सिनियर थिए भने उनी जुनियर ।
भारतको सिंघाईमा चर्चित फुटबल प्रतियोगिता आयोजना हुदै आएको थियो । भारतका प्रदेश अन्तर्गतका राम्रा टीमहरु प्रतियोगितामा सहभागीता जनाउँथे । सो प्रतियोगिताको उपाधि जितेको उनको टीमले । त्यो वेला भारतीय आर्मीको टीमले केही खेलाडीहरुलाई अफर पनि दिएको थियो तर उनीहरु गएनन् । लामो समय खेलाडीको रुपमा खेल्नुका साथै उनले नेतृत्व पनि लिए ।
१३ बर्षमा फुटबल करियर सुरु गरेका उनले कम उमेरमै संघमा पनि नेतृत्व गर्ने मौका मिल्यो । २३ बर्षको उमेरमा कैलाली जिल्ला फुटबल संघको नेतृत्व गर्ने अवसर पाए । आठ बर्ष जिल्ला फुटबल संघलाई चलाए । उनको पालामा भएको सबैभन्दा ठुलो उपलब्धी भनेको सेती आमन्त्रण अन्तराष्टिय महिला फुटबल प्रतियोगिता आयोजना थियो । सो प्रतियोगिता दुई संस्करणभन्दा वढी आयोजना गर्न आर्थिक रुपमा समस्या भयो । तर सोही प्रतियोगिता खेलेका धेरै महिला खेलाडीहरुले अहिलेसम्म पनि नेपाली महिला फुटबल टीमबाट खलिरहेका छन्।
खेल्न र नेतृत्व गर्नका लागि उनले सधैं प्रेरणा दिन्थे अहिले नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाह मनु । उनी टेबल टेनिसका राष्ट्रिय खेलाडी । उनी सवै खेललाई उत्तिक्कै माया गर्थे । सुरेन्द्र लगायतका उनका साथीहरुलाई खेल्न हौसला दिए, सहयोग गरे र अभिभाकत्व दिए । झण्डै आठ बर्ष अर्थात दुई कार्यकाल कैलाली जिल्ला फुटबल संघलाई हाके सुरेन्द्रले । एकातिर खेलाडी अर्कोतिर अध्यक्ष । खेलेर सकिने वित्तिक्कै लुगा फेरेर सभापतिको आसन ग्रहण गर्नुपर्ने अवस्था थियो उनलाई । दुई कार्यकाल अर्थात आठ बर्ष क्षेत्रीय फुटबल संघको पनि अध्यक्ष भएर काम गरे उनले । उनले काठमाण्डौंमा पढाईका क्रममा पनि फुटबल छोडेनन् । सानो गौचरनबाट लिग पनि खेलेका थिए ।
एन्फाका कोषाध्यक्ष विराटजंग शाह अध्यक्ष थिए सो क्लबको । पढाईसँगै फुटबल खेल्ने क्रम जारी थियो उनको । काठमाण्डौं बसेपनि बर्षमा आधा समय धनगढीमै वित्थ्यो उनको । कुनै प्रतियोगिता भयो भने खबर आउँथ्यो । उनी खेल्न आईहाल्थे । विगत र वर्तमानमा ठुलो अन्तर देखेका थिए उनले । त्यो वेला धेरै प्रतियोगिता हुन्थ्यो । खेलाडीहरु सौखका रुपमा खेल्थे । आफैं पैसा उठाएर प्रतियोगिता खेल्थे । तर अहिले अवस्था त्यस्तो छैन् । खेलाडी व्यवसायिक भएका छन् । खेलकुदमा लगानी थिएन पहिले । अहिले लगानी वढेको देख्छन् उनी ।
फुटबर सुरेन्द्र शाही बैंकर बनेका छन् । तर उनलाई फुटबलको मोहले भने छोड्न सकेको छैन् । युथ स्पोर्टस क्लबबाट फुटबल खेलाडीको रुपमा करियर अगाडी वढाएका उनी अहिले सोही क्लबको अध्यक्ष समेत रहेका छन् । क्लब मार्फत फुटबल गतिविधि र सामाजिक कामलाई निरन्तरता दिईरहेका छन् उनी ।
२०७२ सालमा आएको भुकम्पमा प्रभावित क्षेत्रमा सामान लगेर पुगेको थियो उनको टोली । बैंकको काम र फुटबलको नशा । समय व्यवस्थापन गर्न गाहे हुने गरेको उनको । त्यही भएर अहिले प्रत्यक्ष रुपमा फुटबल विकासमा लाग्न गाहे भईरहेको उनलाई । फुटबल छोड्नु उनका लागि असम्भव हो । त्यसैले दोहोरो यात्रामा निरन्तर अगाडी वढिरहेका छन् उनी । आगामी दिनमा थप प्रगतिको कामना ।