स्वास्थ्य चौकीमा औषधि अभावले उपचारमा समस्या 
2020/09/18, 10:38
 
medicine

डडेल्धुरा जिल्ला अमरगढी नगरपालिकाभित्र रहेका चारवटा स्वास्थ्य चौकी तथा ६ वटा आधारभूत स्वास्थ्य केन्द्रहरूमा औषधि अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । अमरगढी नगरपालिकाका स्वास्थ्य संस्थाहरूमा जिंक, जेन्सन भाइलेट (जिभी), सिटामोल, ग्यास्ट्रिकलगायतका औषधिको अभाव हुँदा बिरामीको उपचारमा समस्या आएको हो । 

उपचारका लागि स्वास्थ्य चौकी आएका बिरामीलाई निःशुल्क पाउने औषधि किन्न मेडिकल पठाउनुपर्ने बाध्यता रहेको डकले स्वास्थ्य चौकीका इन्चार्ज महादेव भट्टले बताए । ‘दैनिक १०–१५ जना बिरामी उपचारका लागि आउनुहुन्छ,’ उनले भने, ‘स्वास्थ्य चौकीमा औषधि नभएपछि मेडिकल पठाउनुपर्ने बाध्यता छ ।’ 

लकडाउनभन्दा पहिले बिरामीहरू उपचार तथा जाँचका लागि डडेल्धुरा अस्पताल जाने गरेका थिए । संक्रमणको डरले लकडाउनपछि ग्रामीण क्षेत्रका बिरामीहरू स्वास्थ्य चौकीमा आउने गरेको स्याउले नगर स्वास्थ्य चौकीका इन्चार्ज भोजबहादुर पालले बताए । स्वास्थ्य चौकीमा जाँच गरेपछि निःशुल्क पाउने औषधि मेडिकलबाट किनेर खानुपरेको अमरगढी–१ का गणेश ऐरले गुनासो गरे । 

कोरोना नियन्त्रणका लागि लामो समय लकडाउन भएको र नयाँ आर्थिक वर्षमा बजेट निकासा हुन नसकेकोले  औषधि अभाव भएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले स्विकारे । उनका अनुसार औषधि खरिदका लागि १० लाख ७१  हजार  पाँच सय रुपैयाँको टेन्डर स्वीकृत भइसकेकाेले केही दिनमा स्वास्थ्य संस्थामा औषधि पुग्नेछ ।