डडेल्धुराको अजयमेरुमा विद्यालय सञ्चालनको तयारी
2020/09/18, 2:02
 
scholl

डडेल्धुरा अजयमेरु गाउँपालिकाले असाेज १० गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण दर सुन्य रहेको गाउँपालिकामा अहिले विद्यालय सञ्चालनका लागि अभिभावकको राय सुझाव संकलन भइरहेको छ। 

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तरिय बैठकबाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तुत गरेको थियो। निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विशेष कोरोनाको संक्रमण दर हेरी नियमित रुपमा विद्यालय संचालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष सिकाई क्रियाकलाप गर्न बाधा हुने छैन भन्ने निर्णय भएको छ। 

सोही निर्णय अनुरुप गाउँपालिकामा विद्यालय संचालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले जानकारी दिए। अभिभावकसँगको छलफल पश्चात बालबालिकाको पढाइलाई नियमितता दिने उनले बताए।  गाउँपालिकामा जम्मा ३२ वटा विद्यालय छन्। धेरै जसो विद्यालयमा क्वारेन्टाईनको व्यवस्था गरिएको भएपनि अहिले गाउँपालिका भर कोरोना संक्रमित शून्य रहेका गाउँपालिकाले जनाएको छ।