सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या पाँच सय नजिक पुगेको छ। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सोमवार सम्म उप–महानगर क्षेत्रका चार सय ८४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
एक सय ७४ महिला र तीन सय १० पुरुष गरी चार सय ८४ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए। उनका अनुसार उप–महानगर क्षेत्रका एक सय ३७ महिला र दुई सय ४१ पुरुष गरी तीन सय ७८ जनाले कोरोना जितिसकेका छन्।
३५ महिला र ६९ पुरुष गरी एक सय चार जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। संक्रमण पुष्टि भएका झण्डै ६४ प्रतिशतको ट्राभल हिस्ट्री नरहेको उनले बताए। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।