सुदूरपश्चिममा कर्मचारी र थुनुवामा पनि देखियो कोरोना
2020/05/22, 7:43
 
korona

सुदूरपश्चिममा कर्मचारी र थुनुवामा पनि कोरोना देखिएको छ । डडेल्धुरामा कर्मचारी र बैतडीमा थुनुवालाई कोरोना पुष्टि भएको हो । यसअघि दुवै जिल्लामा एक जना पनि संक्रमित देखिएका थिएनन् । डडेल्धुराका कोरोना संक्रमित व्यक्ती सरकारी कर्मचारी रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले आज मात्रै जिल्लाको परशुराम नगरपालिका वडा १० का २८ बर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि गरेको थियो । उनी डडेल्धुरामै रहेको एक सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगनाथ पन्तले जानकारी दिए । उनी बैशाख २७ गते परशुरामबाट डडेल्धुरा सदरमुकाम गएका थिए । उनी त्यस दिनदेखि सदरमुकाममै बस्दै आएका थिए ।  

संक्रमित युवकमा स्क्रब टाईफस भएको थियो । उनी अस्पतालबाट डिस्चार्ज भईसकेका बिरामी हुन् । डडेल्धुरा अस्पतालका मेसु डाक्टर जगदिश विष्टले अस्पतालबाट डिस्चार्ज भईसकेपछि कोरोना पुष्टि भएको जानकारी दिए । उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । 

 बैतडीमा थुनुवामा पनि कोरोनाको संक्रमण देखिएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनामा रहेका कोरोना संक्रमित युवक ६५ दिन पहिले भारतबाट फर्किएको प्रहरीले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा प्रहरीले बैशाख १५ गते पक्राउ गरेका शिवनाथ गाउँपालिका १ का २२ वर्षीय युवक चैत ६ गते भारतबाट आएका थिए ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिह साउदले उनी दिल्लीबाट चैतमा घर फर्किएको बताए । युवकमा ६५ दिनपछि कोरोना देखिएपछि भारतबाट संक्रमण भएको वा जिल्ला प्रहरी कार्यालयमै थुनामा रहेका बेला भएको हो भन्ने कुरा यकिन गर्न कठिन भएको छ । थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय बैतडी सिल गरिएको छ । संक्रमितको सम्पर्कमा रहेका सबैको परीक्षण गर्ने तयारी गरिएको छ ।