दलित परिवारको पीडा: नागरिकता नहुँदा आमा छोराले भत्ता पाएनन, छोरीको बिहे भएन
2020/09/23, 3:43
 
dalit

बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ बस्ने ६० वर्षीया दुरपती सार्कीले बझाङको खप्तड छान्ना गाउँपालिका–६ बिणाका मदन सार्कीसँग बिहे गरेकी थिइन्। श्रीमानले अर्को बिहे गरेपछि बालबच्चासहित उनी १५ वर्षदेखि माइती घर बाजुरामा बस्दै आएकी छन्।

१५ वर्षदेखि श्रीमान सम्पर्कमा नरहेको र अर्को बिहे गरेर उतै रहेको खबर मात्र पाएको दुरपतीले बताइन। अहिले उनको बृद्ध भत्ता पाउने उमेर भइसकेको छ। उनका छोरा तेज सार्की दुष्टिबिहिन अपांग छन्। तेज ३ वर्षको हुँदा दादुरा रोगबाट ग्रसित भएपछि दुष्टिबिहिन बनेका हुन्। उनले पनि राज्यबाट पाउने भत्ता पाउनुपर्ने हो तर नागरिकता नहुँदा दुवै उक्त सेवाबाट बञ्चित भएका छन्।

नागरिकता लागि उनले स्थानीय सरकार समक्ष नधाएकी भने होइनन्। तर श्रीमानको नागरिकता चाहिने अथवा बाजुराबाट नागरिकता लिने भएपछि बसाइसराई चाहिने भनेपछि उनले हालसम्म नागरिकता पाएकी छैनन्। आफ्नो नागरिकता नहुँदा छोराको जन्मदर्ता समेत नबनाउन सकेको उनले बताइन। 

दलितलाई लक्षित गरेर जनताआवस कार्यक्रम लागु भएपनि नागरिकता नभएका कारणले उनी त्यो सेवाबाट समेत बञ्चित भएको स्थानीयले बताएका छन्। सरकारले दिने अन्य सहुलियतका कार्यक्रमबाट पनि बञ्चित भएको उनकी छोरी मनाले बताइन। ‘मेरा पनि २५ वर्षको उमेर कटिसकेको छ। न चुनावमा भोट हाल्न पाँउछु न अरु सरकारी सेवा लिन पाएको छु।’ उनले नागरिकता नबनेका कारण आफ्नो बिहे समेत नभएको बताइ। ‘एकपटक एकजना केटा मलाई माग्न आएको थियो तर नागरिकता नबनेको र बन्न नसक्ने भनेपछि केटा फिर्ता गयो’ उनले भनीन। 

दुरपतीको परिवार अहिले माइतीले दिएको सानो छाप्रो घरमा बस्दै आएको छ। उनीहरु ज्यालादारी गरेर आफ्नो परिवारको खर्च चलाउँछन्। आर्थिक अवस्था निकै कमजोर रहेको दुरपतीले नागरिकताका लागि थुप्रै प्रयास गरेको भएपनि केहि उपलब्धी नभएपछि उनको नागरिकता पाउने आस मारिसको छ। पटकपटक नागरिकता लागि पहल गरेको भएपनि कतैबाट नागरिकता बनाउन सहयोग नभएको उनको गुनासो छ।