सुदूरपश्चिमका ५ संक्रमितको तीन अस्पतालमा उपचार 
2020/05/23, 7:31
 
hospital

४० दिनपछि सुदूरपश्चिम प्रदेशमा भेटिएका कोरोना भाईरसका नयाँ संक्रमितलाई अस्पतालको आइसोलेसनमा उपचार भईरहेको छ । हिजो एकै दिन सुदूरपश्चिमका तीन जिल्लाका ५ जनामा कोरोना पुष्टि भएपछि उनीहरुलाई तीन वटा अस्पतालको आईसोलेसनमा उपचार भईरहेको हो । 

कैलालीको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ बर्षीय युवकलाई टीकापुर अस्पताल, डडेल्धुराको परशुराम नगरपालिका वडा नम्वर १० का २८ बर्षीय युवकलाई डडेल्धुरा अस्पताल र बैतडीको शिवनाथ गाउँपालिकाका २२ बर्षीय य्ुवकलाई बैतडी जिल्ला अस्पतालको आईसोलेसनमा राखेर उपचार भईरहेको सुदुरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

सबै संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याउने तयारी भएपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएकाले सम्बन्धित क्षेत्रकै अस्पतालमा भर्ना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो ।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, कैलाली लम्कीका २१ बर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । यसअघि देखिएका पाँचै जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।