कञ्चनपुरमा हात्ती आतंक, पाक्नै लागेको झण्डै ७ बिघा धानबालीमा क्षती
2020/10/01, 1:55
 
dhan

कञ्चनपुरको दक्षिणी क्षेत्रमा हात्तीले आतंक मचाउन थालेको छ। जिल्लाको लालझाडी गाउँपालिका लगायतका स्थानीय तहमा ठुलो झुण्डमा गाउँ प्रवेश गर्ने हात्तीको बथानले आतंक मचाउन थालेपछि किसानहरु त्रसित भएका छन्।

बुधबार राती मात्र लालझाडी गाउँपालिका वडा नम्बर ४ को डाडाजाईमा २०÷२२ को संख्यामा गाउँ प्रवेश गरेको हात्तीको बथानले अन्नबालीमा क्षती पुगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले बुधबार राती डाडाजाई पसेको हात्तीको बथानले किसानले लगाएको धानबाली र उखुबालीमा क्षती पुगाएको जानकारी दिए।

प्रहरी नायब उपरिक्षक थापाका अनुसार हात्तीले झण्डै सात बिघा धानबाली र उखुबालीमा क्षती गरेको छ।  स्थानीय टौवा रानाले लगाएको दुई बिघा, गहुन चौधरी, नारायण राना, रामदिन रानाको एक/एक बिघा धानबाली र रामदिन रानाकै एक बिघा उखुबालीमा क्षती पुगाएको उनले बताए।

यस्तै अजय रानाले लगाएको १७ कठ्ठा धानमा समेत हात्तीको बथानले क्षती गरेको प्रहरी नायब उपरिक्षक थापाले जनाए। उनका अनुसार राती नै स्थानीय र प्रहरीले हात्तीको बथान भगाएपछि थप धेरै क्षती हुन नपाएको हो। हात्तीले मानवीय र अन्य भौतिक क्षती भने गरेको छैन्।