असई हत्या प्रकरणमा प्रहरी सफलता नजिक
2020/10/20, 8:49
 
death

स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका प्रहरी सहायक निरिक्षक बिकको हत्यामा संलग्न भएकाहरु पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

बिकको घाँटी रेटी हत्या गर्ने कार्यमा संलग्न ६ जना पक्राउ परिसकेको र उनीहरु हत्या गरेको पनि स्वीकार गरिसकेको स्रोतले बतायो । घटनामा संग्लन केही व्यक्तीहरु भागिरहेकोले उनीहरुको पनि खोजी तिव्र बनाईएको छ । प्रहरीले हत्यामा संग्लन भएको आशंकामा १६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न भएका ६ जना र अन्य १० जनालाई छुट्टाछुट्टै राखेर प्रहरीले बयान गरिरहेको स्रोतले बतायो । सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले गएराति थप तीन जना पक्राउ गरेको पुष्टि गरे । 

आफ्नो अवैध धन्दामा अवरोध बनेपछि तस्करहरुले धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकलाई निर्ममतापूर्वक हत्या गरेको खुलेको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेश कुमार सिहले पनि अपराधीको नजिक पुगेको बताएका छन् । प्रहरी वरिष्ठ उपरिक्षक सिहले साँझ सम्म परिणाम देखिने बताए । 

शनिबार राती नियमित गस्तीमा निस्किका प्रहरी सहायक निरिक्षक बिकको शव हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएको थियो । उनको उच्च सम्मान सहित सोमबार कञ्चनपुरको दोदा घाटमा अन्त्येष्टि गरिएको छ । बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अझै अज्ञात छ । साउदको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।