धनगढीमा सक्रिय मटर तस्करी गिरोहः अवरोध भएपछि प्रहरीको हत्या
2020/10/20, 7:40
 
death

धनगढी उपमहानगरपालिका–१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज गोविन्द विक र जवान राम बहादुर साउँदको मटर तस्करी गर्ने गिरोहले हत्या गरेको खुलेको छ । शनिवार राति धनगढी उपमहानगरपालिका–१० मोहनाघाट भएर नेपालबाट भारत तर्फ मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक विक र जवान साउँदको हत्या गरेको पक्राउ परेकाहरुले प्रहरीलाई बयानका क्रममा खोलेका हुन् । मोहना घाटबाट तस्करी भईरहेको सूचना पाएर पुगेका सई विक र जवानलाई राति साढे १० बजेदेखि पौने ११ बजेको बीचमा चकमली गाउँ नजिकै हत्या गरेर नदीमा दुवै जनाको लाश फालेको पक्राउ परेकाहरुले स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न सात जना पक्राउ परिसकेका छन् । उनीहरुले फरुवा लगायतका घरेलु हतियारको आक्रमणबाट पहिले जवान साउँद र त्यसपछि असई विकको हत्या गरेको बताएका छन् ।

1

हत्यापछि दुवै जनाको शवसंगै उनीहरुको हतियार र मोवाईल नदीमा फालेको समेत पक्राउ परेकाहरुले बताएको प्रहरी नायव महानिरिक्षक उत्तम सुवेदीले बताए । असई बिक र जवान साउँदको हत्यापछि राति नै उनीहरुले एक डल्लप मटर भारतीय गाउँ सलियापार पुर्याएका थिए । घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका डिआईजी सुवेदीको योजना अनुसार परिचालित प्रहरीले राना गाउँ र चकमली गाउँमा छापा मारेको थियो ।

1

घटनास्थलमा छरिएका मटर देखेपछि प्रहरीले सोही आधारमा अनुसन्धान गर्दै जादा मटर तस्करी रोक्न खोज्ने क्रममा असई बिक र जवान साउँदको तस्करीमा संलग्नहरुले हत्या गरेको पत्ता लगाएको हो । भारतमा केही समययता मटरको माग उच्च छ । सोही कारण नेपालका विभिन्न नाका भएर भारतमा मटर तस्करी हुने गरेको छ । यसअघि टीकापुर र भजनीको नाका प्रयोग गरी मटर तस्करी हुने गरेकोमा पछिल्लो केही समययता तस्करहरुले उपमहानगरपालिका–१० मोहनाघाटबाट प्रयोग गर्न थालेका छन् ।

1

सोही सूचना पाएपछि असई विक र जवान शनिवार राति त्यहाँ पुगेका थिए । तस्करहरु बाटो क्लियर गरेर मटर तस्करी गर्ने तयारीमा थिए, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले भने, त्यही बेला अचानक असई र प्रहरी जवानलाई देखेपछि उनीहरुले घेरा हालेर दुवै जनाको हत्या गरेको देखिन्छ । असई र जवानले सो क्रममा प्रतिकार गर्न समेत नपाएको घटनास्थल र लाशको प्रकृतिबाट देखिन्छ ।

असई बिकले प्रतिकारका लागि आफूसंग भएको पेस्तोल समेत प्रयोग गर्न पाएको देखिदैन । प्रहरीले घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले स्थानीय व्यक्तिहरुको घरमा छापा मारेको थियो । सो क्रममा स्थानीय व्यक्तिहरुको घरबाट बरामद भएका भिजेका मोवाईल र कपडाका आधारमा प्रहरीले हत्यामा संलग्न व्यक्तीहरु पक्राउ गरेको डिआईजी सुवेदीले बताए । घटनामा संलग्न केही व्यक्तिहरु फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको सुवेदीले बताए ।

लाठी र कोदालो प्रहार गरेर प्रहरीको हत्या
धनगढी उपमहानगरपालिका–१० जुगेडा स्थित अस्थायी प्रहरी बिटमा कार्यरत असई गोबिन्द बिक र जवान रामबहादुर साउँद हत्या प्रकरणको प्रहरीले अनुसन्धान सक्काएको छ । तस्करहरुको समूहले योजनाबद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ । शनिवार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका बेला तस्कर समूहले नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका शिलशिलामा १६ जना पक्राउ गरेको र ती मध्ये ७ जनाले संलग्नता स्वीकार गरेका छन् । 

1
भारतसँग जोडिएको जुगेडा क्षेत्रमा बिगत देखि नै चोरी–तस्करी हुँदै आएको थियो । खासगरी पछिल्लो समय तस्करहरुले नेपालबाट भारततर्फ खाने मटर तस्करी गर्दै आएका थिए । तस्करीमा केही स्थानीय बासिन्दा पनि सक्रिय थिए । त्यसको सूचना पाएर असई बिक र जवान साउँद उनीहरुलाई घेर्न गएका बेला उल्टै संगठित समूहको निसानामा परेका हुन् । ‘सात जना स्थानीयले आफुहरुले हत्या गरेको भन्दै बयान दिएका छन् ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘प्रहरीले उनीहरुको काममा अवरोध गरेपछि योजनाबद्ध ढंगले नै हत्या गरेको देखिएको छ । 

प्रहरी हत्यामा संलग्न ७ तस्कर सार्वजनिक
कैलालीमा दुई जना प्रहरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सात जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मलेन गर्दै प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्नको आरोपमा सात जनालाई सार्वजनिक गरेको हो ।

2

प्रहरीका अनुसार हत्यामा संलग्न सातै जना राना समुदायका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् । उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसूर दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वेपत्ता प्रहरी जवानको शव ६० घण्टापछि फेला
गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहानसम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो । खोजी गर्ने क्रममा प्रहरी सहायक निरिक्षक विकको शव आईतबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो ।  

1

घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा विक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको छ । प्रहरीका अनुसार विकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै ६० घण्टापछि उनको शव भेटिएको थियो । उनीहरु सवार  बा ५८ प ५२८४ नम्बरको मोटरसाईकल भने घटनास्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको  छ । 

असईको पेस्तोल र मोवाईल बरामद
प्रहरी जवान रामबहादुर साउँदकोे शवसंगै मोहना नदीमा असई गोविन्द बिकको पेस्तोल र मोवाईल समेत फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख दिलीप देउवाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मोहना नदीमा प्रहरी जवानको शव, असई बिकको पेस्तोल र मोवाईल फेला पारेको हो ।

1

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेश सिंहले दिएको जानकारी अनुसार असई बिकको शव फेला परेको स्थानबाट करीव दुई सय मिटर उत्तर पश्चिममा बालुवाले आंशिक पुरिएको अवस्थामा प्रहरी जवान साउँदको शव फेला परेको बताए । पानीको सतह कम भएकोले शव नबगेको र माथिबाट बग्दै आएको बालुवाले शव आंशिक पुरिएको हुन सक्ने एसएसपी सिंहले बताए । 

शोक सलामी सहित असई बिकको अन्त्येष्टि 
कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिकको अन्त्यष्टि गरिएको छ । बिकको शोक सलामी सहित कञ्चनपुरको दोदा नदीमा रहेको किर्तिपुर घाटमा अन्त्येष्टि गरिएको हो । कञ्चनपुरको पुर्नवास नगरपालिका स्थायी घर भएका प्रहरी सहायक निरिक्षक विक ४ वर्षअघि नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए ।

2

भूमीहिन परिवारमा जन्मिएका बिकका श्रीमती, २ र ६ वर्षीया २ छोरी छन् । ५ वर्षको उमेरमा बुवा गुमाएका बिककी ५० वर्षीया आमा छन् । ३ भाइ थिए । उनी माइलो भाई हुन् । यस्तै अछामको बान्नीगढीजयगढ गाउँपालिका वडा नम्बर ५ निवासी साउँद २०६७ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका  थिए । २ वर्षदेखि कैलालीमै कार्यरत साउँदका श्रीमती, ३ र ८ वर्षीया २ छोरी छन् । ५ जना दाजुभाई मध्ये साउद साइलो थिए ।