तस्करले प्रहरीको हत्या गरेपछि सीमामा बढ्यो निगरानी, गोली हान्नेसम्मको आदेश सर्कुलर
2020/10/22, 9:16
 
sima

कैलालीको धनगढी उपमहानगरपालिका १२ जुगेडा अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको तस्कारले हत्या बढाएपछि सीमा क्षेत्रमा निगरानी बढेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीमा क्षेत्रमा नेपाल प्रहरीले निगरानी बढाएको छ । त्यसैगरी सुदुरपश्चिम सरकारका साथै स्थानीय प्रशासनले पनि सुरक्षा अधिकारीहरुलाई सीमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका छन् । अहिले सीमा क्षेत्रमा तैनाथ शसस्त्र प्रहरीलाई पनि चनाखो हुन र नेपाल प्रहरीसँग समन्वय गरेर अगाडी बढ्न भनिएको छ । 

सीमा क्षेत्रमा हुने चोरी तस्करीका क्रममा जुगेडामा मारिएका दुई प्रहरीको घटनामा शसस्त्र प्रहरीले थाहा नपाएको भन्दै आलोचना भएपछि यस्तो आदेश दिईएको हो । प्रहरी हत्यामा संग्लन भएको आरोपमा आठ जना पक्राउ पछि उनीले अपराध स्वीकार गरेपनि प्रहरीले घटनाको अनुसन्धानलाई तस्कर र तस्करीतिर पनि लगेर अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार हत्यामा संग्लनहरु भरिया मात्रै भएकोले मुख्य नाईके सहित तस्कर र तस्करीमा संग्लन व्यापारीहरुको जालोको विषयमा पनि अनुसन्धान अघि बढाईएको छ । जुगेडाको घटनापछि सादा पोशाकमा संख्या बढाएर प्रहरी परिचालन गरिएको छ । सीमा क्षेत्रमा पनि बाक्लो संख्यामा सादा पोशाकका प्रहरी तैनाथ गरिएका छन् । 

प्रहरी प्रधान कार्यालय पनि तस्करीहरुको जालो तोड्न आक्रमक रुपमा अगाडी बढेपछि प्रहरी सक्रिय भएको हो । घटनालाई लिएर नेपाल र भारतमा हुने सीमा वारपारको तस्करी रोक्न प्रहरीलाई सर्कुलर गरिएको छ । एक जना उच्च पदस्थ प्रहरीका अनुसार जारी गरिएको सर्कुलरमा प्रहरीलाई गोली हान्नेसमको आदेश दिईएको छ । ‘नेपाल भारत सीमा क्षेत्रमा केराउ, मरिच र सुपारी तस्करी गरेको पाइएमा सिधैं गोली हान्ने आदेश सर्कुलर गरिएको छ ।’ ती उच्च पदस्थ प्रहरी अधिकारीले भने । 

कोरोनाले सीमा क्षेत्रमा मौलाएको तस्करी रोक्न यसअघि उदासिन देखिएको प्रहरी तस्करबाट संगठनकै दुई जनाको हत्या भएपछि केही सजग भएर सीमा क्षेत्रमा थप निगरानीमा लागेको हो । तस्करीहरुले रातीको मौका छोपेर धन्दा चलाउने प्रयास गरिरहेका छन् । धनगढी उपमहानगरपालिकाका स्थानीय बासिन्दाका अनुसार धन्दाबालाहरुले भारतबाट कपडा, मोवाईल, सेट, सुर्ति, रसायनिक मल, चिनी, खानेतेल, मोटरका पार्ट्स लगायतका सामान तस्कारी गरेर नेपाल ल्याउने गर्छन् भने नेपालबाट सिंगापुरे सुपारी, मटर, केराउ, मरीच लगायतका सामान भारततिर लैजाने गरेका छन् ।

मरिच, सुपारी केराउको तस्करी सानो र ठुलो परिणाम दुवै गरी हुने गरेको पाईएको छ । साइकल, मोटरसाइकल, ट्याक्टर, ट्रक र गोरुगाडामा समेत तस्करी हुने गरेको गत शनिवार राती धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा भएको घटना क्रमले देखाएको छ । खुल्ला सीमाको फाईदा उठाउँदै बढी नाफा कमाउने उद्देश्यले स्थानीय प्रहरी प्रशासनसँगको सेटिङमा मरिच, सुपारी र केराउ तस्कारी हुने गरेको स्थानीय बताउँछन् । नेपाल भारत खुल्ला सीमाका कारण नेपालबाट सवारी साधनमा लोड गरि मरिच, केराउ भारतका विहार, उत्तर प्रदेश दिल्लीसम्म पठाईने गरिएको छ ।