धनगढीमा प्रहरीको हत्या गर्नमा प्रयोग भएका हतियारहरु बरामद
2020/10/23, 4:37
 
death

धनगढीमा प्रहरी सहायक निरीक्षक (असइ) र प्रहरी जवानको हत्यामा प्रयोग भएका हतियार बरामद गरिएको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा प्रयोग भएका हतियार बरामद गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक दिलिप देउवाले बताए ।

देउवाका अनुसार हत्या गर्न प्रयोग भएका दाउ, गरसा र लाठी बरामद गरिएको हो । प्रहरी उपरीक्षक देउवाले प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको शव भेटिएकै मोहना नदी क्षेत्रबाटै हत्या गर्न प्रयोग भएका हतियार बरामद गरिएको जानकारी दिए ।

गत शनिबार नियमित गस्तीमा खटिएका बेला प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्या गरिएको थियो । विभत्स हत्या गरेको अवस्थामा प्रहरी सहायक निरीक्षकको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो ।

उनीहरु सवार  बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो । प्रहरी सहायक निरीक्षक बिकको पेस्तोल पनि मोहना नदीमा भेटिएको थियो ।

उनीहरुको हत्यामा संलग्न भएको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना रोहित राना (ख) र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।