कब्रिस्थानमा कोरोना संक्रमितको शव गाडिएपछि तनाव, स्थानीयद्धारा तालाबन्दी 
2020/10/29, 2:39
 
corona

धनगढीमा कोरोनाबाट मृत्यु भएकी महिलालाई धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रिस्तानमा गाडिएपछि तनाव भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कोरोना संक्रमित महिलाको शव वडा नम्बर १ मा रहेको कब्रिस्थानमा गाडिएपछि स्थानीयले विरोध गरेका हुन् । उनीहरुले मानव वस्तीसँगै रहेको कब्रिस्थानमा शव गाडेको भन्दै कब्रिस्थानको गेटमा तालाबन्दी गरेका छन् ।

स्थानीयले कब्रिस्थानको गेटमा समेत ताला लगाएका छन् । उनीहरुले गाडिएको शव ननिकालिएसम्म गेटको ताला नखोल्ने बताएका छन् । कोरोनाबाट आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिलाको शव स्थानीय प्रशासन र सेनाको टोलीले आफन्तलाई शव बुझाएको थियो । शव बुझाएपछि स्थानीय प्रशासन र मृतकका परिवारले कब्रिस्तानमा शव गाडेका हुन् ।

हालसम्म कोरोनाबाट मृत्यु भएकाहरुको शव नेपाली सेनाले मानववस्ती भन्दा अलग्गै रहेको स्थानमा व्यवस्थापन गर्दै आएको थियो । कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रिस्तानमा गाडिएको बताए । मुस्लिम समुदायले कब्रिस्तानमा गाड्छौ भनेपछि त्यहाँ शव व्यवस्थापन गरिएको उनले बताए ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ कि ५७ वर्षीया महिलाको आज विहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कडा खालको निमोनिया देखिएपछि असोज १० गते भर्ना भएकी महिलाको बिहान साढे ५ बजे मृत्यु भएको जानकारी दिए ।