धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् । मानव वस्तीको बीचमा रहेको ‘कब्रिस्तानमा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोध जनाएका हुन् । धनगढी उपमहानगरपालिका १ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका २ की ५७ वर्षीया महिलाको शव सो कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
यसै बीच समस्याको समाधान छलफलबाट गरिने भएको छ । विहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी लगायतका स्थानीय वासिन्दाहरुसँग पनि छलफल गरिएको छ । छलफलबाट निष्कर्ष ननिस्किएपछि फेरी शुक्रवार छलफल गरेर निष्कर्ष निकालिने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले जानकारी दिए ।
स्थानीय वासिन्दाहरुले कब्रिस्तानमा गाडिएको कोरोना संक्रमित महिलाको शव अन्यत्र गाड्न माग गरेका छन् । यस विषयमा मृतकका परिवार पनि तयार भईसकेका छन् । तर कुन स्थानमा गाडने भन्ने टुंगो लागेको छैन । जिल्ला स्थित प्रशासनका अधिकारीहरु समस्याको समाधान खोज्ने तयारीमा लागेका छन् । सम्भवत शुक्रबार यो समस्या समाधान हुने वडाध्यक्ष मुडभरीले जानकारी दिए ।