धनगढीमा चिहानस्थलमा तालाबन्दी, दुई दिनदेखि आँगनमै शव !
2020/10/31, 8:46
 
death

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा रहेको मुस्लिम समुदायको मृत्युपछि अन्तिम संस्कार गर्ने चिहानस्थलमा तालाबन्दी गरेपछि दुई दिनदेखि शव घरको आँगनमै छ ।  पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल रहेको छ । वर्षौंदेखि उनीहरूले यही स्थानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए । कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्यु पश्चात् मुस्लिम समुदायले धार्मिक परम्परा अनुसार सोही स्थानमा शव व्यवस्थापन गरेपछि स्थानीयले विरोध जनाएका थिए ।

बस्ती बीचमै संक्रमितको शव गाडेको भन्दै स्थानीयहरूले चिहानस्थलमा तालाबन्दी गरेका हुन् । चिहानस्थलमा तालाबन्दी भएपछि मृत्यु भएका एक मुस्लिम समुदायका व्यक्तिको अन्तिम संस्कारमा समस्या भएको छ । शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको परिवारजनले दुखेसो पोखेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भन्दै रोक लगाएपछि मुस्लिम परिवारले अन्तिम संस्कार गर्न नपाएका हुन् ।  कब्रिस्तानमै शव गाड्न रोक लगाइएपछि शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय शुक्रबार बिहान दुवै मृगौला फेल भएर मृत्यु भएका सोही वडाका मोहमद जमसेदको शव शुक्रबार विहानदेखि घरमै छ । 

मृतकका छोरा सद्दाम जमसेदले कब्रिस्तानमा रोक लगाएपछि बुवाको अन्तिम संस्कार गर्न नपाएको बताए । उनले अन्यत्र कब्रिस्तान नहुँदा शुक्रबार बिहान ५ः ३० बजेदेखि शवलाई घरमै कुरिरहेको बताए । स्थानीय प्रशासन र जनप्रतिनिधिको अवरोधका कारण बुवाको अन्तिम संस्कार गर्न नपाएपछि मुस्लिम समुदायमा पीडामाथि पीडा थपिएको छ ।