धनगढीमा मुस्लिम परिवारको पुकारः ‘आँगनमा रहेको शवको गर्न पाउँ अन्तिम संस्कार’ (भिडियो सहित) 
2020/10/31, 9:46
 
death

धनगढीमा कब्रिस्तान (चिहानघाट) मै बन्देज लगाएपछि दुई दिनदेखि मुस्लिम पुरुषको शव घरमै राखिएको छ ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले कब्रिस्तानमा कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएकाले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि रोक लगाएपछि मुस्लिम परिवारले २४ घण्टाभन्दा वढी हुँदा समेत अन्तिम संस्कार गर्न नपाएका हुन् ।

कब्रिस्तानमै शव गाड्न रोक लगाइएपछि शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको शवलाई आफन्त र परिवारहरुले अन्तिम संस्कार गर्न नपाएका हुन् । मृतकका छोरा सद्दाम जमसेदले कब्रिस्तानमा रोक लगाएपछि बुवाको अन्तिम संस्कार गर्न नपाएको बताए । ‘हामीले आज १२ बजेसम्म शवलाई गाड्न पाउनु पर्यो । हामीले दुई दिनसम्म शव गाड्न नपाउनु हामीमाथि अत्याचार भयो ।’ उनले भने–‘मेरो ख्वाईस यो छ अब हामीले घरमा राखेको बुबाको शवलाई गाड्न पाउनु पर्छ । यसका लागि सबैले सहयोग पनि गर्नु पर्यो ।’ 

मृतकका छोरा सद्दामका अनुसारको उनको घरका उनी एक्ला छोरा हुन् । दुई दिदीहरुको विहे भईसकेको छ भने एक बहिनी उनी र उनकी आमा घरमा रहेका छन् ।  स्थानीय प्रशासन र जनप्रतिनिधिले बुवाको अन्तिम संस्कार गर्न सहजीकरण नभएको पिडित परिवारको दुखेसो रहेको छ । उनीहरुले आज दिउँसोसम्म प्रशासनले निकास नदिएमा जे पनि हुनसक्ने चेतावनी समेत दिएका छन् ।

शव व्यवस्थापनको लागि आफुहरुले दुई दिनदेखि जिल्ला प्रशासन सँग पटक पटक आग्रह गर्दै आएको भइपनि आश्वासन मात्रै पाईएको पशुपति टोल स्थित नेपाली नुरी जामा मस्जितका कार्यवाहक अध्यक्ष मोहमद यामिनले जानकारी दिए । 

स्थानीय प्रशासन तथा नेपाली सेनाको टोलीले विहिबार कोरोना संक्रमितको शव कब्रिस्तानमै व्यवस्थापन गरेपछि केही स्थानीयको विरोध गरेपछि धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले अर्को व्यस्था नहुन्जेलसम्म भन्दै सो कब्रिस्तान नै सील गरेपछि अर्का मृतकका परिवार शव गाड्नबाट वञ्चित भएका हुन् ।  आफुहरुको धार्मिक मूल्य मान्यतालाई स्थानीय निकाय र स्थानीय प्रशासनले वेवास्ता गरेको बताउँदै मुस्लिम अगुवा  लासमाथि राजनीति भैरहेको भन्दै आक्रोस भएका छन् ।