धनगढीको मुस्लिम समुदायलाई कब्रिस्तानमै दाहसंस्कार गर्न अनुमति
2020/10/31, 12:18
 
death

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रिस्तानमै दाह संस्कार गर्न अनुमिति दिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा आज विहान भएको सरोकारवालाहरुको छलफलपछि मुस्लिम समुदायलाई कब्रिस्तानमा दाह संस्कार गर्न अनुमति दिईएको हो । प्रशासनका अधिकारीहरुसँगै मुस्लिम अगुवा र स्थानीय वासिन्दा र जनप्रतिनिधिहरु बीचको सरसल्लाहपछि  सो अनुमति दिईएको हो ।

स्थानीय प्रशासनले शवको अन्तिम संस्कार गर्न दिने अनुमति दिदैसँगै दुई दिनदेखि घरमै रहेको शवको अन्तिम संस्कार हुने भएको छ । शुक्रबार विहान मृत्यु भएर पनि घरमै राखिएका पुरुषको शव कब्रिस्तानमै अन्तिम संस्कार गर्नका लागि लागिरहेको धनगढी उपमहानगरपालिका १ स्थित नेपाली नूरी जामा मस्जितका कार्यबहाक अध्यक्ष महोमद यामिनले जानकारी दिए । 

धनगढी उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले कब्रिस्तान नै सील गरेपछि दुई दिनदेखि एक जना मृतकको अन्तिम संस्कार हुन सकेको थिएन । शुक्रबार विहान दुबै मृगौला फेल भएर धनगढी उपमहानगरपालिका १ का ५० वर्षीय मोहमद जमसेदको मृत्यु भएको थियो । तर शवको कब्रिस्तानमा दाहसंसकार गर्न नदिइएपछि घरमै शव राखेर मृतकका परिवार तथा आफन्तजन शुक्रबार विहानदेखि शनिबार दिउँसोसम्म जिल्ला प्रशासन कार्यालय धाउन बाध्य भएका थिए । अव शवको दाहसंस्कारका लागि काम अगाडी बढेको छ । मुस्लिम धर्म अनुसार उनको दाहसंस्कारको तयारी भईरहेको परिवारजनले जनाएको छ ।