कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको निर्माण कार्यमा तीव्रता
2020/11/03, 10:54
 
medical

कैलालीको गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको निर्माणले तीव्रता पाएको छ । सरकारले २०६६ सालमा नै गेटामा मेडिकल कलेजको स्थापना गर्ने घोषणा गरेको भए पनि प्रकृयागत ढिलाईका कारण ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । अशोज २५ गते प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबिच भएको ८ बुँदे सहमतिसँगै गेटा मेडिकल कलेजको निर्माणले तीव्रता पाएको हो ।
सहमतिमा अगामी २०८० साल भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन हुने उल्लेख छ ।

सरकार र डाक्टर गोबिन्द केसीबिच भएको सम्झौतामा गेटामा २०८० सालको फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भइसकेको, अस्पताल भवन, छात्रवास भवन, कर्मचारी भवन लगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको उल्लेख छ । सरकारले २०६६ मा कलेज स्थापनाको घोषणा गरेकोमा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने २०७३ सालदेखि मात्रै सुरु गरिएको थियो ।

सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढाउन विद्येयकको मस्यौदा बनाएको थियो । तर संविधानसभा विघटन भएपछि काम अगाडि बढ्न सकेको थिएन । निर्माणधीन गेटा मेडिकल कलेजका अध्यक्ष डाक्टर चेतराज पन्तले सबैको साथ र सहयोगले निर्माणले तिब्रता पाएको बताए । उनले भवन निर्माण कार्य सकिएसँगै पढाई संचालन हुने बताए । अध्यक्ष पन्तले भने–‘यसमा डाक्टर गोबिन्द केसीको अनसन र सम्झौताको धेरै ठूलो महत्व छैन, क्रमिक रुपमा काम भइरहेको छ, डाक्टर केसीको समर्थन मात्र हो ।’

बिचमा विभिन्न प्राविधिक कारणले काममा ढिलाई भएको पछिल्लो एक वर्ष यता निर्माण कार्यले तीव्रता पाएको डाक्टर पन्तले बताए । गेटामा पौने चार अर्ब खर्च गरेर तत्काल मेडिकल कलेज सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार बनेको छ । कैलालीको गेटा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढेको ११ वर्षमा भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ७८ करोड खर्च भइसकेको छ । कलेजको पूर्वाधार विकास निर्माण समितिका कार्यकारी निर्देशक भीमबहादुर साउँदले भौतिक रुपमा लगभग अन्तिम चरणमा रहेको बताए । कलेजका पूर्वाधारको समग्र प्रगति करिब ७५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । केही भवनको ‘फिनिसिङ’ को काम भइरहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा संरचना तयार हुने उनले बताए । ०७१ मा शिलान्यास भएको प्रशासनिक भवनको काम ९० प्रतिशत सकिएको छ ।

साढे पाँचतले अस्पताल भवनको ८० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, चिकित्सक, नर्सिङ र कर्मचारी आवास गृहका आठ वटा भवनको काम पनि भइरहेको छ । २०६६ मा तत्कालीन सरकारले गेटा मेडिकल कलेज निर्माणको घोषणा गर्दै बजेट विनियोजन गरेको थियो । तर, वातावरणीय प्रभाव मूल्यांकन अध्ययन र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७३ पछि मात्रै पूर्वाधार निर्माणले तीव्रता पाएको थियो । गेटामा रहेको ५१ दशमलव आठ हेक्टर क्षेत्रमा स्थापना हुने मेडिकल कलेजमा ६ सय शैयाको अस्पताल सञ्चालन गर्ने सरकारको लक्ष्य छ । समितिले सुरुमा एक सय ५० शैय्याको अस्पताल सञ्चालन गर्ने जनाएको छ ।