रोकिएका परिक्षाबारे नयाँ प्रवन्ध गर्ने सरकारको तयारी, शैक्षिक सत्र शुरु गर्न आवश्यक व्यवस्था गरिने
2020/05/27, 6:34
 
school

विद्यालय तहका रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने अवस्था नभएको ठहर गर्दै सरकारले परीक्षाबारे नयाँ प्रवन्ध गर्ने तयारी गरेको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था विद्यमान नभएको भन्दै परीक्षार्थीको सिंगो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा मन्त्रालयले छिट्टै आवश्यक प्रवन्ध मिलाउने उल्लेख गरेका हुन् ।

’महामारीका कारण माध्यमिक शिक्षा परीक्षा एसईई दुई दिन अघि स्थगित गर्नु परेको थियो, यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’ ओलीले भने ’अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन, तसर्थ एसईईका परीक्षार्थीको सिंगो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रवन्ध मिलाउने छ ।’ 

कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरण गर्न भन्दै सरकारले गत चैत ६ गते परीक्षा आउन १२ घण्टा अघि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्यसको ५ दिन पछिबाट शुरु भएको लकडाउन जारी रहे पछि शिक्षा विज्ञहरुले विद्यालयले यस अघि नै गरेको आन्तरिक मूल्याँकनका आधारमा नतिजा सार्वजनिक गर्न सुझाव दिए पनि शिक्षा मन्त्रालय परीक्षा सञ्चालन गर्ने मुडमै देखिन्छ । उसले गठन गरेको समितिले गत बैशाख १८ गते बुझाएको प्रतिवेदनमा पनि परीक्षा गर्नै पर्ने सुझाव दिईएको थियो ।