महेन्द्रनगरमा १४ जनालाई सार्वजनिक मुद्दा लागेपछि यात्रु र ग्राहक खोसाखोस गर्ने क्रम घट्यो
2019/09/19, 4:03
 
nghgf

कञ्चनपुरमा यात्रु र ग्राहक खोसाखोस गर्ने १४ जनालाई सार्वजनिक मुद्दा लागेपछि उक्त प्रवृत्तिमा केही सुधार आएको छ। जिल्ला प्रशासन कार्यालयले तीन महिना पहिले यात्रु खोसाखोस गरी जवरजस्ती आफ्नो गाडीमा चढ्न र होटलमा बस्न बाध्य  बनाउने १४ जनालाई सार्वजनिक मुद्दा लगाएपछि उक्त प्रवृत्ति निरुत्साहित हुँदै गएको सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष कृष्ण बहादुर बोगटीले बताए।

 बोगटीले भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संघसंस्थाको सक्रियतामा यात्रु र ग्राहक खोसाखोस गर्ने व्यवसायी र कामदारलाई सार्वजनिक मुद्दा लगाईएको जनाए। यी संस्थाहरुले मिलेर नगर क्षेत्रमा चलाउँदै आएका जनचेतनामुलक कार्यक्रमले पनि पछिल्ले समय यात्रु र ग्राहक खोसाखोस गर्ने प्रवृत्ति कम भएको बोगटी बताउँछन्।

वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख, प्रहरी निरिक्षक मोहनसिंह बुढथापाले छ जना होटल व्यवसायी र आठ जना यातायात व्यवसायी तथा कामदारहरुलाई जिल्ला प्रशासनले सार्वजनिक मुद्दा चलाएको जानकारी दिए। उनले भने,‘यात्रु र ग्राहकमाथि जबरजस्ती गर्नेहरुलाई सार्वजनिक मुद्दा दर्ता गरी कारवाही गरेपछि अहिले सुधार भएको छ।’

जिल्ला प्रशासनले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाही स्वरुप जरिवाना तिराएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाश कुमार केसीले उक्त अभियान पछि यात्रु र ग्राहक खोसाखोस गर्ने प्रवृत्ति निरुत्साहित हुँदै गएको जनाए। उनले अहिले पनि यात्रु र ग्राहक खोसाखोस गर्ने व्यक्ति भेटिएमा कारवाहीको दायरामा ल्याउन आफू तयार रहेको केसीले बताए।