प्रदेश राजधानी धनगढीमा छैनन् सार्वजनिक शौचालय
2020/11/20, 11:53
 
toilet

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका तथा हाल प्रदेशको राजधानी समेत रहेको धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय छैनन् । धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढी सार्वजनिक शौचालयको आवश्यकता रहेको भएपनि हाल न्युन मात्र रहेका छन् ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने, ‘अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ, हाल धनगढी उपमहानगरपालिकाभित्र छ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् ।’

धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, भन्सार कार्यालय नजिक, उपमहानगरपालिकाको कार्यालय अगाडी, जिल्ला प्रशासन कार्यालय संगम टोलमा एक÷एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउँछन् ।

भट्टका अनुसार मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनले भने, ‘अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ ।’
धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उपमहानगरपालिकाले यस वर्ष मुख्य सडकका थप दुई स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए । उनले भने, ‘माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन ।’

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए । बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको व्यवस्थापन सहि ढंगले हुन सकेको छैन । धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।

कैलाली जिल्लालाई मुलुकको ५१ औँ जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कैलालीमा एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन ।

युवाहरूले भने– व्यवस्थित सार्वजनिक शौचालय देऊ
२०७७ मंसिर ४ गते बिहीबार । दिउँसो १२ बजे । कैलालीको धनगढी स्थित पार्कमोडको मुख्य सडकको छेउमै केही युवायुवती हातमा ब्यानर बोकेर उभिए । ब्यानरमा लेखिएको थियो– पहिले सार्वजनिक ट्वाइलेट देऊ, सम्मृद्धि पछि लिउला । नवयुवा सञ्जालले आठौँ विश्व शौचालय दिवसको अवसरमा पार्कमोडमा सार्वजनिक शौचालयको माग गर्दै एक घण्टा जनचेतना तथा दवाबमुलक कार्यक्रम आयोजना गरेको थियो ।

सञ्जालका प्रदेश संयोजक कृतज्ञ वीरविक्रम शाहीले भने, ‘धनगढीको मुख्य सडक भनेको बढी चहलपहल हुने क्षेत्र हो । त्यसैले यहाँ प्रत्येक ५०÷५० मिटरको दूरीमा एउटा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले सार्वजनिक शौचालयका लागि दिवसमा मात्र नभएर अरु समयमा पनि दवाब दिइरहेको बताए । उनले भने, ‘नगरका पर्याप्त स्थानमा सार्वजनिक शौचालय नभएका कारण मानिसहरु पुलमुनि, भित्तापर्खाल, रुखमुनि अथवा कुनाकाप्चामा शौच गर्नुपर्ने बाध्यता छ ।’

सञ्जालकी सदस्य बिना शाहीले सार्वजनिक शौचालय निर्माण गरेर मात्र नहुने र त्यसलाई व्यवस्थित गर्नुपर्ने बताइन् । उनले भनिन् ‘धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय छैनन् । भएका शौचालयमा पनि कतै चुकुल नहुने, त कतै पानीको व्यवस्था छैन ।