आगन्तुक चराले भरिभराउ घोडाघोडी पर्यटकको पर्खाइमा
2020/11/28, 11:53
 
godaghodi

चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध मानिने घोडाघोडी सिमसारमा आगन्तुक चराको चहलपहल बढेको छ । हरिहाँसका लागि प्रसिद्ध घोडाघोडी तालमा हिउँद यामभरिका लागि आगन्तुक चरा आइपुगेका हुन ।  उपयुक्त आहाराको खोजी र जाडो छल्नका लागि मङ्गोलिया, साइबेरिया, उत्तरी चीनबाट आगन्तुक जलपक्षी यहाँ आइ पुगेको जनाइएको छ । हिउँदमा कैयौं माइल उडेर आगन्तुक चरा घोडघोडीमा आइपुग्ने गरेका छन् । पाहुना चराको चिरविर, चिरविर आवाजले अहिले विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको रौनक झनै बढेको छ । 

पानीमा यत्रतत्र पौडी खेल्दै गरेको र कमलको पातमा ‘क्याटवाक’ गर्दै गरेका चराको दृश्यले मनै लोभ्याउने गरेको छ । जलपक्षीका लागि राम्रो बासस्थान मानिने घोडाघोडी तालमा हिउँदमा देखिने आगन्तुक चराको चहलपहल बढेको चराविज्ञ हिरुलाल डङ्गौराले पश्चिम टुडेलाई बताए । ‘बसाइँ सरेर आउने आगन्तुक चराको चहलपहल बढेको छ’, उनले भने ।  घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन् । यो वर्ष हालसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे टिमटिमा आइ पुगेका छन् । ‘जाडो याममा देखिने पाहुना चराहरु धेरै आइसके’, चराविज्ञ डङ्गौराले भने । ‘अझै आउनेक्रम जारी नै रहेको छ ।’

सुदूरपश्चिम प्रदेशकै गहनाको रुपमा रहेको घोडाघोडीमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन् । जसमध्ये केहि रैथाने हुन भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आउने गर्दछन् ।  बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख रहेको प्रजाति हो । यसैगरी, यहाँ अरु पनि विश्वमै दुर्लभ जलपक्षी पाउने गरेका छन् ।  ‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डङ्गौरा भन्छन्–‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइ पुग्ने गर्दछन् ।’ यहाँ आएका आगन्तुक जलपङ्क्षी फागुन मसान्त (मार्च पहिलो दोस्रो साता) सम्म रहने गरेको बताइएको छ । गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरी उतै फर्किने गरेका छन् । 

हिउँदे आगन्तुक चराको चहलपहल, पानीमा खेलेको दृश्यले घोडाघोडी ताल अवलोकन गर्नेहरुलाई मन्त्रमुग्ध बनाउने गर्दछ । घोडाघोडी सिमसार क्षेत्रमा ३४२ प्रजातिको चरा पाईन्छन् । यहाँ चराहरुको अवस्था सुधारोन्मुख रहेको डङ्गौराले पश्चिम टुडेलाई बताए । ‘नयाँ–नयाँ प्रजाति थपिदैं गएका छन्’, उनले भने । घोडाघोडी सिमसार जल र स्थल चराको लागि अत्यन्त उपयुक्त ठाउँ मानिदैं आए पनि प्राकृतिक बासस्थानको विनाशले चुनौती थपिएको जनाइएको छ । जलपक्षीका बासस्थानमा गडबडी आएको छ भने स्थल पक्षीको बासस्थान विनाश भइरहेको छ । 

2

सिमसार क्षेत्रमा मिचाहा प्रजाति बढेर चराको बासस्थान नै फरक भएको जनाइएको छ । मिचाहा प्रजातिका झारका कारण चराहरु खेल्नका लागि खुल्ला ठाउँ कम हुँदै गएको डङ्गौराले बताए । यसैगरी, चोरी सिकार, जथाभावी माछा मार्ने, सिमसारमा मानवीय गतिविधि बढ्दै जाने लगायतका कारणले चरालाई चुनौती भएको जनाइएको छ । ‘बासस्थानमा गडबडीका कारण जलपक्षीको सङ्ख्यामा घटबढ भइरहने गर्दछ’, उनले भने । 

 किसानले खेतीपातीमा अत्यधिक मात्रामा विषादी प्रयोग गर्दा त्यसले पनि जलपक्षीलाई हानी गर्ने गरेको बताइएको छ । जलपक्षीको ब्रिडिङमा मानवबाट हुने हस्तक्षेपले पनि ठूलो नोक्सान हुने गरेको संरक्षणकर्मीको बुझाइ छ । कतिपय मान्छेहरुले पक्षीको गुँडबाट अण्डा, बच्चा निकालेर खाइ दिने कारणले पक्षी संरक्षणमा चुनौती रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष डीआर चौधरीको भनाइ छ । चोरी सिकार नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनी बताउँछन् । 

 

घोडाघोडी ताल क्षेत्रमा चरा अवलोकन पर्यटनको ठूलो सम्भावना रहेको छ । चरा अवलोकन गर्न मन पराउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई घोडघोडीले पर्खिरहेको डङ्गौरा बताउँछन् । पछिल्लो समय कोरोना कहरका कारण पर्यटन उद्योगमा ठूलो असर परेको छ । मुलुककै प्रसिद्ध पर्यटकीय स्थलहरुले पर्यटक अभाव खेपिरहेका छन् । त्यस्तो समस्याबाट घोडाघोडी ताल पनि अछुतो छैन । तर, घोडघोडी ताल क्षेत्रमा घुम्न आउने र चरा अवलोकन गर्ने आन्तरिक पर्यटकहरु विस्तारै बढिरहेका बताइएको छ ।