धनगढीको कोरोना अस्पतालमा थप ५० शैया विस्तार गर्न साढे २ करोडमा ठेक्का आह्वान
2020/12/03, 10:59
 
korona

धनगढीको कोरोना अस्थायी अस्पतालमा थप ५० शैया विस्तार गर्न झण्डै साढे २ करोडमा ठेक्का आह्वान गरिएको छ। सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको कोभिड अस्थायी अस्पतालमा थप ५० शैया बिस्तारका लागि ठेक्का आह्वान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बजेटको सुनिश्चितता पाएपछि अस्पतालका शैया विस्तारका लागि प्रक्रिया थालिएको बताए। उनले करिब २ करोड ३१ लाखको लागतमा निर्माण हुने अस्थायी अस्पताल भवनका लागि इ–बिडिङ गरिएको जानकारी दिए।  

कोभिड अस्थायी अस्पतालको शैया विस्तारका लागि ठेक्का आह्वान गरिए पनि निर्माण स्थलमा परेका रुखका कारण काम प्रभावित हुने चिन्ता गरिएको छ। साबिक जिल्ला विकास समितिको स्वामित्वमा रहेको सो जग्गामा यसअघि ५० शैयाको कोभिड अस्थायी अस्पताल निर्माण गर्दा रुख बाधक नबनेपनि थप शैया विस्तारका लागि रुख काट्नुपर्ने देखिएको छ।

ती रुख हटाउन डिभिजन वन कार्यालय धनगढीलाई सिफारिस गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धामीले बताए। उनले वनलाई यो बीचमा २ पटकसम्म रुख कटानी सहमतिका लागि पत्र पठाइसकेको बताए। तर अन्य प्रक्रिया अघि बढेका छैनन् 

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने चिसो मौसममा संक्रमणको दर बढ्ने कुरालाई ध्यानमा राखेर अस्पतालका शैया विस्तार गर्न लागेको जनाएको छ। गम्भीर संक्रमितका लागि सघन उपचार कक्ष आइसीयू र भेन्टिलेटर सेटअप सहितको ५० शैया विस्तार गरिरहेकाले अहिले बनेको भन्दै व्यवस्थित संरचना निर्माण हुनेसामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्की बताउँछन्।

उनले यसअघि कोभिड अस्थायी निर्माण गर्ने क्रममा आईसीयू र भेन्टिलेटर सेटअप नरहेको बताउँदै अहिले ती सबै सुविधासहित शैया विस्तार गर्ने योजना बनाइएको जनाए। तर कोभिड अस्थायी अस्पतालको शैया विस्तार मात्र नभएर उपकरण र जनशक्ति थप्नमा समेत सम्बद्ध निकायले ध्यान दिनुपर्ने सुझाव दिइएको छ।