धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको अन्यौलता कायमै
जहाँ जमिन छनोट त्यही विवाद
2020/12/08, 10:24
 
damping

धनगढी उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको अन्यौलता कायमै रहेको छ । फोहोर–मैलाको वैज्ञानिक व्यवस्थापनका लागि क्षेत्रीय शहरी विकासको कार्यक्रम धनगढीमा लागु भएपनि उपमहानगरपालिकाले जमिन उपलब्ध गराउन सकेको छैन । यसअघि वडा नम्बर १ र २ मा जग्गा छनोट गरिएको थियो । तर स्थानीयको विरोधमा सो क्षेत्रमा व्यवस्थापन केन्द्र निर्माण हुन पाएन ।  

हाल उपमहानगरपालिकाले वडा नम्बर ७ को राष्ट्रिय वन क्षेत्रको जमिनमा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्न जग्ग छनोट गरेको छ । तर जमिन प्राप्तिको प्रक्रिया सुरु नभएको धनगढी उप–महानगरपालिकाका डिभिजन ईन्जिनीयर द्धिजराज भट्ट बताउँछन् ।  ‘छनौट गरेको जमिनमा प्रसोधन केन्द्रको डिजाईन हुँदैछ । रिपोर्ट आएको छैन । माटो परिक्षणको काम पनि हुदैछ । नमूना संकलनको लागि काठमाण्डौ पठाइएको छ । त्यो कार्य सकिएपछि वातावरणीय प्रभाव मुल्यांकन गरिनुपर्ने हुन्छ । त्यसका लागि पनि समय लाग्छ । संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयबाट जमिन प्राप्तिको काम हुन्छ,’ उनले भने ।

क्षेत्रीय शहरी विकास कार्यक्रम अनुसार फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि ४३ विगाह जमिन आवश्यक छ । तर उपमहानगरपालिकाले संघीय वन तथा वातावरण मन्त्रालयमा जमिन प्राप्तिका लागि औपचारीक पत्र समेत पठाएको छैन । फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मुल्याँकन (ईआए) समेत तयार गर्न बाँकी छ । जमिन प्राप्तिको काम पुरा नभएकाले अन्य प्रक्रिया समेत ओझेलमा परेको हो ।

फोहोर मैला व्यवस्थापन केन्द्रको अवसर र असरका बारेमा समेत अध्ययन हुने इन्जिनियर भट्टले बताए । सन २०२२ सम्मका लागि लागु भएको क्षेत्रीय शहरी विकास कार्यक्रम अन्तरगत धनगढीमा ११ किलोमिटर सडक कालोपत्रेको तयारी थालिएको छ । तर उपमहानगरले जमिन उपलब्ध गराउन नसक्दा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया भने अलपत्र परेको उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले स्वीकार गर्छन् । ‘फोहोर मैला व्यवस्थापन केन्द्र धनगढीका लागि अति आवश्यक हो । हामीले पटेलामा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको प्रक्रिया सुरु गरेका छौ । तर नेपाल सरकारबाट जमिनको भोगााधिकार पाउन बाँकी छ ।

एसियाली विकास बैंक (एडीभी) को पहिलो सर्त फोहोर मैला व्यवस्थापन केन्द्र हो । तर हामीले आग्रह गरेपछि अन्य भौतिक संरचना निर्माण हुँदैछन ।’  उनले भने । धनगढीमा फोहोर–मैला व्यवस्थापन केन्द्र नहुँदा मनलाग्दी जताततै फोहोर व्यवस्थापन हुँदै आएको छ । व्यवस्थापन नहुँदा र नगरवासीमा चेतनाको अभावले निस्कने प्लास्टिकजन्य जन्य फोहोर जलाउने परिपाटी उत्तिकै बढी छ । तर त्यसबाट निस्कने विषालु धुँवा मानव तथा पशुपंक्षीलाई अति हानिकारक छ । जसप्रति धनगढीमा अझै सचेतनाको अभाव देखिदै आएको हो ।

धनगढी उप–महानगरपालिकामा दैनिक १६ टन बढी फोहोर संकलन हुन्छ । त्यो पनि १९ वडा रहेको उपमहानगरका केही वडा र बजार क्षेत्रमा मात्र दैनिक फोहोर संकलन हुन्छ ।  विडम्वना संकलित फोहोर व्यवस्थापन गर्न उपमहानगरपालिका सँग जमिन छैन । नदी, वन तथा खाली जमिनमा फोहोर–मैला फाल्ने काम हुँदै आएको छ ।