धनगढीमा हत्या गरिएका असई र जवानको मरणोप्रान्त १ तह पदोन्नती
2020/12/10, 8:53
 
death

विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको मरणोप्रान्त १ तह पदोन्नती गरिएको छ।  नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले हत्या गरिएका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको नियमानुसार पाउने आर्थिक सुविधा सहित मरणोप्रान्त १/१ तह पदोन्नती गरिएको   बताए। 

 प्रहरी निरीक्षक बिक प्रहरी सहायक नायब निरीक्षक (सई) र जवान साउद प्रहरी हवल्दारमा पदोन्नती भएका छन्। योसँगै उनीहरुको परिवारले अबको ७ वर्षसम्म खाईपाई आएको तलबvभत्ता पाउने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले जनाए। ७ वर्षपछि भने उनीहरुको परिवारले पेन्सन सुविधा पाउनेछन्। 

गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद वेपत्ता भएका थिए। बिक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने दुई दिनपछि साउद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए। 

उनीहरुको हत्या आरोपमा पक्राउ परेका धनगढीको जुगेडाकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।  हत्या प्रकरणसँग जोडिएको मटर तस्करी गराएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन् भने हत्यामा संलग्न केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ।