धनगढीको एउटा बस्तीः जहाँ ५३ बर्षपछि बाटो खुल्यो !
2020/12/10, 10:38
 
sadak

सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका हो धनगढी उपमहानगरपालिका । प्रदेशको अस्थायी राजधानी पनि हो धनगढी । यही धनगढीले तिव्र रुपमा पनि विकास गरिरहेको छ । तर यही उपमहानगरपालिकाका कतिपय बस्तीहरु बत्ती मुनिको अध्यारो जस्तै बनेका छन् । उपमहानगरपालिकाकै कतिपय वडाहरुमा आधारभुत विकासका पुर्वाधारहरु पनि पुग्न सकेका छैनन् ।

2

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ मा अवस्थित वनदेवी टोल यस्तै अवस्थामा रहेको छ । सो टोलमा वस्ती बसेको ५३ बर्षपछि बाटो पुग्यो भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर त्यो वस्तीमा बल्ल ५३ बर्षपछि बाटो बनेको छ ।  वडा नम्बर ९ को वनदेवी टोलमा २०२४ सालदेखि बसोबास हुदैं आएको छ । साढे पाँच दशकको अवधिमा पनि दर्जनौं निर्वाचन भए । नेताहरुले भोट मागे । बाटो बनाउँछु भने । तर अवस्था जहिले पनि यस्ताको उस्तै । बल्ल आएर बाटो बनाईएको छ । ५३ बर्षपछि बाटो बनेपछि आवतजावतमा सहजता भएको स्थानीय वासिन्दा बाजे लुहारले बताए । उनी २५ बर्षका् उमेर हुँदा धनगढी झरेका हुन् । अहिले उनी ७४ बर्षका भए । बाटो बन्नुअघिसम्म घाँटीसम्मको पानी तरेर आउनुपर्ने अबस्थाको अन्त्य भएको छ । 

2

बाटो नभएको अवस्थामा स्थानीय वासिन्दाहरु एक किलोमिटर लामो बाटो घुमेर वस्तीमा पुग्नुपर्ने अवस्था रहदैं आएको थियो । भगवती टोलमा झण्डै तीन सय जनाको बसोबास हुदैं आएको छ । अधिकांश दलित समुुदायको बस्ती रहदैं आएको छ । ‛सुकुम्बासीहरुको बसोबास रहेको वस्तीमा झुलुगे पुल बनाउने आश्वासन पाएको भए पनि न पुल बन्यो न बाटो नै बन्यो ।’ स्थानीय गगन पार्कीले भने–‛टोलमा न विजुली थियो । न पानी नै थियो । बाटो बनेको छ । यसले अब सबै गाउँलेलाई सहज भएको छ ।’

4

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बल्ल आएर बाटो बनेको हो । वडा कार्यालयको बजेटमा पानी बग्ने खोलामा माटो भरान गर्दै होम पाईप हालेर बाटो निर्माण गरिएको हो । बुढेसकालमा बाटो बनेपछि हिड्नका लागि सजिलो भएको स्थानीय धनादेवी लुहारले बताईन् । वडा कार्यालयले १० लाखको बजेटमा दुई सय ५० मिटर लामो कोचवे कल्भर्ट निर्माण गरेको हो । बाटो खुलेको वस्तीमा नै कालोपत्रेको पनि योजना अघि सारिएको छ ।

सडक कालोपत्रे र पुल निर्माणको लागि ३० लाख बजेट बिनियोजन गरिएको वडाध्यक्ष प्रेम भण्डारीले जानकारी दिए । ‘एक किलोमिटर हिड्नुपर्ने बाध्यता थियो । ५३ बर्षदेखिको सपना पुरा भएको छ ।’ वडाध्यक्ष भण्डारीले भने– ‘स्थानीय वासिन्दालाई सजिलो भएको छ । यो काम गर्न पाउँदा निकै खुशी भएको छु ।’