धनगढीमा बिरामीले डाक्टरलाई पैसाको मालाले सिंगारे
2020/12/19, 12:46
 
dr

उपचारका क्रममा लापरवाही भएको आरोपमा डाक्टरहरुमाथि हातपात भएका घटनाहरु पटक पटक सार्वजनिक भईरहन्छन् । तर डाक्टरले राम्रो उपचार गरेको भन्दै प्रशंसा गर्ने परिपाटी भने कमै हुन्छ । धनगढीमा एक जना बिरामीले डाक्टरलाई पैसाको मालाले सिंगारेका छन् । वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थलाई एक जना विरामीले पैसाको मालाले सम्मान गरेका छन् । जुन फोटो सहितको भनाई डाक्टर कायस्थले आफ्नो फेशबुकमा शेयर छन् । बिरामीबाट सम्मान पाउँदा डाक्टर कायस्थ खुशी भएको महसुस उनले हालेको तस्वीरबाट प्रष्ट हुन्छ । 

सामाजिक सञ्जाल फेसबुकमा पैसा र फूलको मालाले सिङ्गारिएको आफ्नो तस्बिर सार्वजनिक गरेका कायस्थलाई लगाईएको माला नेपाली ५, १० र २० रुपैयाँको नोटले उनिएको छ । ती फोटो सार्वजनिक गर्दै कार्यस्थले स्टाटशमा लेखेका छन्–‘आज बिहानै ओपीडीमा बिरामीबाट मलाई फूलको माला, घरमै बनाइएको मिठाइ र फलफूल सहित मायाको टोकन प्राप्त भयो ।’  २०४६ सालदेखि चिकित्सकीय पेशामा आवद्व रहेका पुरै जीवन सुदूरपश्चिममा विताएका डाक्टर कायस्थले बिरामीबाट प्राप्त गरेको सम्मानको सामाजिक सञ्जालमा प्रशंसा र तारिफ भईरहेको छ । 

2

 डाक्टर कायस्थलाई कार्यकक्षमै रुपैयाँ सहितको फूलमालाले बिरामी कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाकी उर्मिला चौधरीले सम्मान गरेकी हुन । नसा सम्बन्धित समस्याबाट पीडित चौधरीले ‘मान्छे बचाउने डाक्टर भगवान भएको भन्दै कायस्थको उपचारले निको भएकोले सम्मान गरेको बताईन् ।   डाक्टर कायस्थ आफ्नो उपचार पाएर निको भएका बिरामीबाट यस्तो खालको माया पाउँदा यसले काम गर्न थप उर्जा मिलेको बताउँछन् । ‘बिरामीहरुबाट टीका र फूलमाला सहितको सम्मान त धेरै नै पाइरहेको हुन्छु ।’ उनले भने, ‘तर मेरो अनुभवमा यो सफलता मात्र नभएर एउटा नयाँ खोज पनि हो ।’ डाक्टर कायस्थले केही वर्षदेखि भिटामिन ‘बी’ को कमीबाट हुने रोग र बिरामीको प्रकृतिबारे सुदूरपश्चिममा रहेर अनुसन्धान गरिरहेकाले ती बिरामी पनि सोही क्रममा उपचारका लागि आफू कहाँ आएको बताए । 

भिटामिन बी को कमीबाट हुने रोगका फरक फरक प्रकृति रहेको उनले अनुसन्धानका क्रममा पत्ता लागेको बताए । सेती प्रादेशिक अस्पतालमा समेत काम गरिसकेका डाक्टर कायस्थ २०७२ सालको साउनमा सरकारी सेवाबाट निवृत्त भएका थिए। अहिले उनी धनगढीमै रहेर समर मेडिकलमा बिरामीको उपचार गर्दै आएका छन ।