धनगढीमा दुई प्रहरीको हत्याकाण्डका मुख्य योजनाकार पक्राउ, कसरी समातिए ? 
2020/12/28, 9:24
 
death

धनगढीमा दुई जना प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका ३० वर्षीय सुकबहादुर रानालाई प्रहरीले घटना भएको ढाई महिनापछि समातेको हो । धनगढी उपमहानगरपालिका–१० चकमेलीवासी राना घटना भएदेखि भाग्दै लुक्दै आएका थिए । 

उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । घटना भएको अढाई महिनापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।  पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।  गत कार्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद वेपत्ता भएका थिए ।

विक कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउँद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए । यसअघि सो घटना अभियोगमा पक्राउ परेका ८ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ । 

को हुन मुख्य योजनाकार ? 
सुकबहादुर रानाले २०१८ सम्म अमर रानाका नामबाट फेसबुक चलाएका थिए । उनको आफ्नो नाममा फेसबुक आईडी छैन । उनी लामो समयदेखि भारतको बनकट्टी र सरियापारबाट नेपालमा सामान भित्र्याउने र यहाँबाट अवैैध रुपमा भारत सामान पठाउने कार्यमा संलग्न रहदैं आएका थिए । भारतमा जे कुराको माग छ । उनले स्थानीय व्यापारीसंग मिलेर त्यो सामान भारत पठाउथे ।

चकमलीमा उनको गोदाम छ । भारत पठाउने सामान गोदाममा जम्मा गर्थे । र त्यहाँबाट रातिको समयमा भारत पठाउथे । स्रोतले भन्यो, देशमा नाकाबन्दी हुदा होस वा लकडाउन हुदा होस उनको यो अवैध धन्दामा कहिल्यै असर परेन । किनकी उनी सीमामा प्रहरीसँग लाईन मिलाएर निर्बाध रुपमा अबैध धन्दा गरिरहे ।

पछिल्लो पटक उनले मटर (केराउ) को तस्करीमा हात हाले । त्यही मटर कार्तिक १ गते राति उनी भारत पु¥याउँदै आएका थिए । सोही क्रममा प्रहरी हत्या भएको थियो ।