प्रहरी हत्याकाण्डका मुख्य योजनाकार राना कारागार चलान
2021/01/01, 12:12
 
death

कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य अभियुक्त सुक बहादुर भनिने अमर रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

बिहीबार जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि भएको आदेशअनुसार रानालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । रानालाई आइतबार पक्राउ गरि प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । 

घटना भएको अढाई महिनापछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको थियो । नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको गत कार्तिक १ गते निर्मम हत्या भएको थियो । हत्याको आरोपमा यस अघि पक्राउ परेका ८ जना पनि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।