सेती अस्पताललाई सटर भाडा उठाउँनै मुस्किल, एक करोड बक्यौता
2021/01/03, 1:47
 
bhada

सेती प्रादेशिक अस्पतालको एक करोड सटर भाडा उठ्न बाँकी रहेको छ । झण्डै एक बर्षदेखि सटर भाडामा लिएकाहरुले भाडा नतिरेका हुन् । भाडामा रहेका २९ वटा सटर बापतको एक करोड भाडा अहिलेसम्म पनि नउठेको अस्पतालका लेखा अधिकृत मदन महराले जानकारी दिए । 

1

सटर वापत मासिक साढे १४ लाख भाडा पाउँदै आएको अस्पतालमा कोरोना महामारीको प्रभाव देखिएपछि भाडामा लिएकाहरुले सटर भाडा तिर्न आनाकानी गर्दै आएका हुन् । लेखा अधिकृत महराका अनुसार एकै सटर वापतको ३६ लाख भाडा उठ्न बाँकी रहेको छ । अस्पतालका ३० वटा सटर मध्ये २८ वटा सटरहरु पाँच बर्ष अघि भाडामा दिईएको थियो भने एउटा सटर आफै बनाएर भाडा वापतको रकम सटर बनाउनेले अस्पताललाई तिर्दै आएका छन् । 

अस्पतालमा अधिकांश मेडिकलका पसलहरु रहेका छन् । कोरोना महामारीले औषधी व्यवसायलाई त्यति प्रभाव नपारे पनि त्यसको वहानमा सटर भाडामा लिएका व्यवसायीहरुले भाडा वापतको रकम दिन आनाकानी गरिरहेका हुन् । साढे १६ हजारदेखि ३६ लाखसम्म भाडा असुल गर्न बाँकी रहेकोले पटक पटक भाडा तिर्न ताकेता गरिरहेको अस्पतालका लेखा अधिकृत महराले बताए । 

1

पुस महिनासम्म रकम बुझाउन पत्र काटिएको र भाडा बुझाउन निर्देशन दिईएको छ । बक्यौता रकम पुस मसान्तसम्म नबुझाएमा नाम सहित सञ्चार माध्यममा प्रकाशन गर्ने निर्णय भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार केही सटरहरु भाडामा लिएकाहरुले छोडे पनि भाडा भने नतिरेरै छोडिएको छ ।

मनोज मेडिकल हलले सबैभन्दा वढी पौने तीन लाख मासिक भाडा तिर्दै आएको थियो । गत साउनदेखि सटर छोडे पनि भाडा भने तिरिएको छैन् । मुद्धाको विवाद भएपछि सटर छोडे पनि भाडा नतिरेको अस्पतालको लेखा शाखाले जनाएको छ । अस्पतालकै व्यवसायिक सटर भाडामा लिएका भक्त विष्टले सटर भाडाको रकम तिरेर सटर छोडेका छन् । अन्य सटर भाडामा लिएकाहरुले भने भाडा तिर्न अटेरी गर्दै आएका छन् ।