मोहनापुल–अत्तरिया छ लेन सडकको फेरि म्याद थप्ने तयारी
2021/01/20, 1:45
 
sadak barsa

कैलालीमा निर्माणाधीन मोहनापुल–अत्तरिया छ लेन सडक निर्माणको समयावधि फेरि थप्ने तयारी गरिएको छ । लकडाउनका कारण निर्माण कार्यमा बाधा भई काम पूरा नभएपछि दोस्रो पटक म्याद थप गर्न लागिएको हो । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार निर्देशनालय मार्फत निर्माण भइरहेको यो सडकको काम तीन खण्डमा विभाजन गरेर भइरहेको छ । 

मोहना पुलदेखि बोराडाँडीसम्म रहेको पहिलो खण्डको म्याद गएको मङ्सिर ६ गते सकिएको थियो । यसैगरी, बोराडाँडीदेखि गेटासम्म दोस्रो खण्ड र गेटादेखि अत्तरिया चौकसम्मको तेस्रो खण्डको म्याद आउँदो माघ १५ गते सकिदैंछ । यसअघि, तोकिएको अवधिमा निर्माण पूरा नभएपछि पहिलो खण्डको १८ महिना र दोस्रो, तेस्रो खण्डको २०÷२० महिना पहिलो पटक म्याद थप गरिएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका क्रममा निर्माण कम्पनीहरुले काम गर्न नसकेका मोहना पुल अत्तरिया छ लेन सडक आयोजनाका ईन्जिनियर लक्ष्मण रावलले बताए । ‘सबै निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिइसकेका छन ।’ उनले भने । 

निर्माण व्यवसायीले आउँदो साउनसम्म म्याद थप गर्नका लागि माग गरेका जनाइएको छ । तर, आयोजनाको कार्यालयले भने चालू आर्थिक वर्षभित्रै काम सकिने गरी म्याद थप गर्नका लागि प्रक्रिया अगाडि बढाईने जनाएको छ । ‘हामीले सकेसम्म चालू आर्थिक वर्षभित्रै काम सकिनु पर्छ भनेर निर्माण व्यवसायीलाई भनेका छौं ।’ उनले भने– ‘सोही अनुसार म्याद थपका लागि गृहकार्य भइरहेको छ ।’ लकडाउनका कारण भनेर म्याद थपका लागि सिफारिस गरिने इन्जिनीयर रावलले बताए । उनका अनुसार पहिलो खण्डको म्याद थपका लागि फाइल विभागमा पठाइएको छ । यसैगरी, अझै एक हप्ता म्याद रहे पनि दुई वटा खण्डको पनि म्याद थपका लागि फाइल तयार पारिएको छ । 

कोभिड–१९ का कारण काम रोकिएका योजनाहरुको छ महिना म्याद थप गर्ने सरकारले यसअघि नै निर्णय गरिसकेको जनाइएको छ । तर, त्यो निर्णय कोभिडका बेला सम्झौता भएका र ठेक्का अवधि सकिएका योजनाहरुको हकमा मात्रै लागू हुने जनाइएको छ । ‘रनिङमा रहेका योजनाहरुको बारेमा सरकारको अघिल्लो निर्णयले स्पष्ट पारेन’, इञ्जिनीयर रावलले भने– ‘किनभने, कोभिड–१९ बेला छ लेन सडक न सम्झौता भएको हो, न त यसको ठेक्का अवधि सकिएको थियो ।’ निर्माणाधीन अवस्थामा रहेका तर, कोभिड–१९ ले गर्दा निर्माण कार्य प्रभावित भएका योजनाहरुको बारेमा मन्त्रि परिषद्ले छुट्टै निर्णय गर्ने अपेक्षा गरिएको इन्जिनीयर रावलले बताए । 

दोस्रो र तेस्रो खण्डको म्याद माघ १५ गतेसम्म रहेको छ । सो बेलासम्म दुवै खण्डको निर्माण पूरा नहुने देखिएकाले त्यसको पनि असार मसान्तसम्म म्याद थपका लागि गृहकार्य भइरहेको जनाइएको छ । ‘हामीले दुवै खण्डको म्याद थपका लागि फाइल तयार पारिसकेका छौं ।’ उनले भने– ‘पठाउन भने बाँकी रहेको छ ।’  २०७४ देखि निर्माण कार्य अगाडि बढेको १४.२ किलोमिटर लामो मोहना पुल–अत्तरिया छ लेन सडकको हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना कार्यालयका अनुसार पहिलो, दोस्रो खण्डको कामको भौतिक प्रगति ८५÷८५ प्रतिशत रहेको छ ।

तेस्रो खण्डको कामको भौतिक प्रगति भने करिब ७५ प्रतिशत रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । तीनै खण्डमा हाल धमाधम काम भइरहेको जनाइएको छ । म्याद सकिए पनि पहिलो खण्डमा ठेक्का पाएको शर्मा–अमर–नागार्जुन जेभीले निर्माणको काम जारी राखेको छ । यसैगरी, दोस्रो खण्डमा लुम्बीनी–राजेन्द्र डाँफे र तेस्रो खण्डमा लामा–राजेन्द्र–डाँफेले पनि निर्माणको कार्यलाई जारी राखेका छन् । छ लेन सडकको कुल लागत एक अर्ब ६५ करोड रुपैयाँ रहेको छ । हालसम्म निर्माण कम्पनीलाई ७५ प्रतिशत रकम भुक्तानी भइसकेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

निर्माण कम्पनीहरुले चालू आर्थिक वर्षमै काम सम्पन्न गरेमा छ लेन सडकको निर्माण कार्य २०७४ सालदेखि अगाडि बढाइएको थियो । सुरुको वर्ष मुआब्जा विवादका कारण कामले गति लिन सकेको थिएन । गत चैतदेखि भने मुलुकमा भएको बन्दाबन्दीका कारण सडक निर्माणको काम प्रभावित भएको थियो । लकडाउनका कारण निर्माण कार्य प्रभावित भएकाले सोही अनुसार ठेक्का थपका लागि सिफारिस गरिने इन्जिनीयर रावलले बताए । ‘हामीले लकडाउनका कारण प्रभावित भएको भनेर विभागमा फाइल पठाइ दिने हो’, उनले भने– ‘यदि सरकारले निर्णय फरक गरेमा फाइल फिर्ता पनि आउन सक्छ ।’