केपी ओलीका म्यादी केन्द्रीय सदस्यलाई बुर्का लगाईदिनुहोला : नेपाल
2021/01/30, 4:18
 
maku

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीको पतन निश्चित भएको टिप्पणी गरेका छन् । धनगढीमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेपालले अहंकारको घोडामा चढेका ओली सुध्रिने अवस्था नरहेको र पतन निश्चित भएको बताए ।

ओलीलाई दुर्योधनको संज्ञा दिदै नेपालले कौरवको बिनाश दुर्योधनको अहंकारका कारण भए झै ओलीको अहंकारका कारण उनको र उनका मतियारहरुको पतन निश्चित रहेको बताए । उनले ओलीले नियुक्त गरेका केन्द्रीय सदस्यहरुप्रति टिप्पणी गर्दै भने, ‘केपी ओलीका म्यादी केन्द्रीय सदस्यहरुलाई मास्क लगाएर लाज छोप्न सक्ने अवस्था छैन् । उनीहरुलाई बुर्का लगाई दिनुहोला ।’ 

नेपालले ओलीले चुनाव गराएर प्रजातन्त्र बलियो बनाउलान् भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गरे । नेपालले अगाडि थपे, ‘केपी ओली कहिल्यै पनि गणतन्त्रको पक्षमा भएनन् । ओलीले चुनाव गराउलान् र प्रजातन्त्र बलियो होला भन्ने सोच्नुभएको छ भने भ्रमबाट मुक्त हुनुहोस् ।’ लोकतन्त्र सकिए पनि गणतन्त्र सकिए पनि ओलीलाई कुनै मतलब नभएको प्रतिक्रीया नेपालको थियो ।