पीडा बिर्सेर सेवामा
2021/05/30, 9:35
 
dd

महाकाली अस्पतालको आईसीयू कक्षमा कार्यरत स्टाफ नर्स सुदीक्षा खरेलले आईसीयूमै भर्ना भएका ठूलोबुबालाई पर्याप्त समय दिन सकिनन् । कोरोना संक्रमित उनको उपचारका क्रममै मृत्यु भयो । शोकको त्यो घडीमा पनि खरेल परिवारसँगै रहन पाइनन् । ‘अस्पतालमा हुँदा पनि धेरै समय दिन सकिएन, न ठूलोबुबाको मृत्युपछि नै परिवारसँगै रहन पाएँ, मनमा कता–कता नराम्रो लागिरहन्छ,’ उनले भनिन् ।

यसबीचमा उनका दिदी–भिनाजु पनि संक्रमित भए । दुवै घरमै बसेका थिए । उनीहरूलाई पनि स्वास्थ्य अवस्थाबारे बुझेर सल्लाह र ढाडस दिन पाइनन् । अस्पतालमा बिरामीको चाप बढी भएका कारण उनी अधिकांश समय अस्पतालमै हुन्छिन् । उनले परिवारसँगै बसेर खाना खान नपाएको एक महिनाभन्दा बढी भयो । ड्युटी सकेपछि घर गएर छुट्टै बस्नु र फेरि अस्पताल जानु उनको दैनिकी नै बनेको छ । भन्छिन्, ‘घरमै हुँदा पनि परिवारसँग बोल्न, दुःख साट्न पनि पाइँदैन, नराम्रो त लागिहाल्छ नि ’

उक्त अस्पतालकै आईसीयू वार्ड इन्चार्ज डा. प्रकाशचन्द्र ओझाले पनि श्रीमती र छोरी संक्रमित हुँदासमेत उनीहरूको रेखदेख गर्न पाएनन् । अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको चापका कारण उनले परिवारलाई समय दिन नसकेका हुन् । ‘उता बिरामीको अवस्था हेर्दा छाड्नै नमिल्ने, यता घरमा पनि सबै संक्रमित, केही दिन त निकै गाह्रो भयो,’ डा. ओझाले भने, ‘छोरी र श्रीमती दुवैको रिपोर्ट नेगेटिभ आएपछि केही सजिलो भयो ।’

महोत्तरीका ओझा दुई महिनाअघि मात्रै महाकाली अस्पताल आएका हुन् । उनी आएको केही दिनमै संक्रमण तीव्र भएर अस्पतालमा बिरामीको चाप बढ्यो । संक्रमित बिरामीको सम्पर्कमा रहनुपर्ने भएकाले उनी एक/डेढ महिनादेखि परिवारबाट अलग बसेका छन् । ‘दुईवर्षे छोरी बाबासँग जाने भनेर रुन्छे,’ उनले भने, ‘मेरो खाने, बस्ने सबैथोक अलग्गै छ ।’ आईसीयू वार्डमा अधिकांश गम्भीर प्रकृतिका बिरामी हुन्छन् । उनीहरूको हरेक समय निगरानी गर्नुपर्ने र कसैलाई केही अप्ठेरो भए जतिबेला पनि सेवामा हाजिर हुनुपर्ने उनी बताउँछन् ।

आईसीयू वार्डमै कार्यरत रेखा भण्डारीको पीडा पनि उस्तै छ । फुपूको घरमा बसेर अध्ययन गरेकी उनले संक्रमणपछि फुपाजु आईसीयूमा हुँदासमेत पर्याप्त समय दिन सकिनन् । न फुपूलाई भेटेर पर्याप्त समय र सान्त्वना नै दिन भ्याएकी छन् । ‘आईसीयूमा सबै बिरामीको रेखदेख गर्नै पर्‍यो, एउटैको मात्रै रेखदेख गरेर भएन,’ उनले भनिन्, ‘फुपाजुलाई धेरै समय दिन नसकेकामा दुःख लाग्छ ।’

यसैबीचमा भण्डारीका भाइलाई पनि संक्रमण भएर महाकालीकै आइसोलेसनमा भर्ना गरियो । आफू आईसीयूमा व्यस्त हुँदा आइसोलेसनमा रहेका भाइको अवस्थाबारे बरोबर जानकारी लिन पाइनन् । ‘संक्रमित व्यक्तिसँगै परिवारका सदस्य बस्न पाउँदैनन्, हामी नै परिवारका सदस्य भएर उनीहरूलाई ढाडस दिइरहेका हुन्छौं,’ भण्डारीले भनिन्, ‘यस्तो बेला आफूले केयर गरिरहेको बिरामीलाई छाड्न मनै लाग्दैन ।’

महाकालीकै जनरल वार्डमा कार्यरत कौशिला कार्की र उनका श्रीमान् दुवै संक्रमित भए । श्रीमान्लाई आईसीयूमै राख्नुपर्‍यो । अहिले श्रीमान्लाई निको हुँदै गएपछि दुवै अस्पतालकै आइसोलेसनमा छन् । ‘संक्रमितको सेवामा खटिँदा हामी दुवै संक्रमित भयौं,’ उनले भनिन्, ‘श्रीमान् संक्रमित हुँदा पनि मैले बिरामीको रेखदेख छाडिनँ, जब आफैं संक्रमित भएँ त्यसपछि आइसोलेसनमा बसें ।’

महाकाली अस्पतालमा संक्रमितको उपचारमा संलग्न यी स्वास्थ्यकर्मीहरू आफ्नो पीडालाई मनभित्रै थन्क्याएर बिरामीको सेवामा खटिएका छन् । अस्पतालमा लामो समयको उपचारपछि निको भएर जाने बिरामीहरूले दिने गरेको धन्यवाद र आशीर्वादका शब्दले उनीहरू ती सबै पीडा बिर्सन्छन् । तर त्यस्ता बिरामीलाई बचाउन नसक्दा भने दुःखी हुन्छन् । ‘जब निको भएर घर फर्किनेले आशीर्वाद दिएर जान्छन्, त्यतिबेला परिवारबाट अलग बसेको कुरा पनि बिर्सिन्छौं,’ भण्डारीले भनिन् ।