बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत भेटिए
2021/03/24, 10:24
 
death

बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका थिए । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए ।

स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले जानकारी दिए ।

स्वामीकार्तिक खापर–२ को भुकाहाँखोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उनले बताए । खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

घटनास्थलमा देखिएको शङ्कास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ । बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरी निरीक्षक ठगुन्ना बताउँछन् । घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाइन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको नागरिकताबाट मृतक ल्वार भनी पहिचान भएको हो । प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृतक ल्वारका आफन्तलाई शव बुझाई दाहसंस्कारका लागि जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।