५ महिनापछि फोन सम्पर्कमा आए वडाअध्यक्ष भण्डारी
2021/03/26, 2:01
 
jagnatha

बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष पदमबहादुर भण्डारी बुधबार फोन सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएको करिब ५ महिनापछि भण्डारी रेडियो बूढीनन्दाको टेलिफोन सम्पर्कमा आएका हुन् ।

घरपरिवार भेटघाटका लागि गत मंसिरमा कैलाली गएका भण्डारी ५ महिनासम्म गाउँपालिका र आफन्तसँग सम्पर्कविहीन अवस्थामा थिए । गत ९ चैतमा बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भण्डारीले सम्पर्कविहीन भएको सामाचार प्रकाशित भएलगत्तै आफू उपचारका क्रममा जिल्लाबाहिर रहेको प्रतिक्रिया दिए ।

गत ५ माघमा २ महिने बिदा लिएर तत्काल वडा सचिव रतनलाल रतेडालाई निवेदनसहितको जानकारी गराएर बाजुराबाट कैलाली गएको उनले दाबी गरे । तर, वडा सचिव रतेडाले वडाध्यक्ष भण्डारीको निवेदनबारे गाउँपालिकालाई जानकारी नगराएकाले सम्पर्कविहीन अवस्थामा भएजस्तो देखिएको उनको भनाइ छ ।

‘वडा कार्यवाहकको जिम्मेवारीसहित भेटघाटका लागि कैलाली जाने निवेदन लेखेर वडा सचिव रतेडासमक्ष गाउँपालिकालाई जानकारी गराइदिनू भनेको थिएँ । तर, बेवास्ता गरेछन्,’ भण्डारीले भने ।

कार्यवाहक वडाध्यक्षको जिम्मेवारी वडा सदस्य नरी बुढालाई दिएको निवेदन र बिदामा बसेको निवेदन वडा सचिव रतेडाले गाउँपालिकालाई जानकारी नगराउँदा घटना सम्पर्कविहीन भएको देखिएको दाबी उनको छ ।
 
वडा सचिव रतेडासँग धनगढीमा भेटेर कुरा गर्दा तत्काल बझाङ सरुवा भएकाले गाउँपालिकालाई जानकारी गराउन नपाएको वडा सचिव रतेडा बताएको वडाध्यक्ष भण्डारीले जानकारी दिए ।