बाजुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषित
2021/04/28, 2:56
 
corona

बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ। 

‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो। जिल्ला खोप समन्वय समिति बाजुराद्वारा मङ्गलबार सुदूरपश्चिम प्रदेशका प्रदेश सभासदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन्। 

जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताए। प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पुर्‍याई उनीहरुले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। 

जिल्लामा हाल दुई हजार ११६ बालबालिकामध्ये आंशिक रुपमा खोप पाएका ४२ बालबालिका र एकजना खोप नै नपाएका बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप  सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए। 

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य कुँवरले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए। जिल्ला समन्वय समिति बाजुराका  प्रमुख तथा खोप समन्वय संयोजक नरेन्द्रकुमार रोकायाले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको बताए। 

अहिले महामारीका बेला स्वास्थ्यका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र अस्पताल निर्माणका लागि बजेट दिनुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको र कैलाली मात्र बाँकी रहेको बताएका थिए।