दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ ।
बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम बन्द भएका कारण साँझ बिहान हातमुख जोड्नसमेत धौधौ परेको छ ।
पहिलो चरणको कोरोना सङ्क्रमणका बेला भएको बन्दाबन्दीको समयमा अधिकांश सङ्घसंस्थाले यहाँका मजदुरी गरी खाने वर्गलाई खाद्यान्नलगायतका राहत वितरण गरेको भए पनि यसपटकको बन्दाबन्दीमा कसैले पनि राहत नदिएका कारण आफूहरुलाई हातमुख जोड्नसमेत मुस्किल पर्दै आएको दिपायल सिलगढी नगरपालिका–४ का श्यामबहादुर बादीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हामी त दैनिक काम गरेर खाने मान्छे, कोरोनाले सबै क्षेत्र बन्द भए, हामीले काम पाएनौँ, काम नपाउँदा कसरी छाक टार्ने यही समस्याले पिरोलेको छ ।”
जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित सेती प्राविधिक शिक्षालय नजिकको सरकारी जमिनमा बस्दै आएका यहाँका जमिनविहीन बादी समुदायका व्यक्तिलाई बन्दाबन्दीले सबैभन्दा बढी सताएको छ । जमिन नभएका कारण खेतीपातीको काम गरेर पनि खान नसक्ने अवस्थाका उक्त ठाउँका कम्तीमा पनि आठ परिवार बादी समुदाय ज्याला मजदुरी काम गर्दै परिवार पाल्दै आएका थिए ।
वर्षौँ पहिलेदेखि सुकुम्बासी भएर उक्त क्षेत्रमा बसोबास गर्दै आएका बादी समुदायका परिवारलाई कोरोनाका कारण भएको बन्दाबन्दीले निकै सताएको दिपायल सिलगढी नगरपालिका–४ का कुल्पातेका स्थानीयवासी खड्गप्रसाद अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दाबन्दीले काम नपाउँदा यहाँका बादी समुदायलाई गाउँगाउँमा गएर मागेर पेट पाल्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बादी समुदायजस्तै यहाँको गैरा, ढोलपडा, घोलतडा, पिपल्ला, दिपायललगायतका क्षेत्रका दैनिक मजदुरी गरी छाक टार्दै आएका दलित परिवारलाई पनि छाक टार्न मुस्किल बन्दै गएको राजपुरका स्थानीयवासी नरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको बन्दाबन्दीले जिल्लामा सबैलाई समस्या नै छ, विशेषगरी यहाँका जग्गा जमिन नभएका दलित परिवारलाई पेट पाल्न निकै समस्या भएको छ, राहत पनि कसैले दिँदैनन्, रोगभन्दा भोकले मर्ने चिन्ता उनीहरुमा बढेको छ ।”
यहाँका मजदुरी गरी खाने वर्गलाई स्थानीय सरकारले समेत राहतका लागि अहिलेसम्म पनि कुनै पहल नचालेकाले झनै समस्या भएको बताइएको छ । राजपुरस्थित बागनेटीमा ज्यामी काम गर्दै आउनुभएका धनीराम ओडले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको लकडाउनमा काम गर्न नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको बताउनुभयो । ओडजस्तै यहाँका दैनिक सिकर्मी तथा डकर्मीको काम गर्दै आएकाहरुले पनि बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरुलाई दैनिक छाक टार्न समेत मुस्किल परिरहेको छ । उनीहरुलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता बढी छ ।
बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घर खर्च चलाउन निकै समस्या परेको यहाँका मजदुरी गरी खाने वर्गको भनाइ छ । उता दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले मजदुर वर्गलाई परेको समस्या समाधानका विषयमा छलफल भइरहेको र आवश्यक राहत जुटाउनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा दैनिक मजदुरी गरी खाने वर्गलाई बन्दाबन्दीले निकै समस्या भएको छ, उनीहरुलाई राहत वितरणका लागि पहल भइरहेको छ, सम्भवतः चाँडै समस्या समाधान हुन्छ ।”