बझाङका ६ स्थानीय तहमा दादुरा–रुबेला खोप अभियान संचालन
2020/03/14, 5:18
 
dadura

बझाङका ६ स्थानीय तहमा शनिबारबाट दादुरा–रुबेला विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ। १२ वटा स्थानीय तह रहेको जिल्लाको जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, विथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका र केदार स्युँ गाउँपालिकामा दादुरा–रुबेला विरुद्धको खोप लगाउने अभियान सुरु भएको स्वास्थ्य कार्यालय बझाङका प्रमुख तथा खोप अधिकृत भानु जोशीले बताए। 

बझाङ जिल्लामा दुई चरणमा यो अभियान संचालन गरिने भएको छ। पहिलो चरण अन्तरगत चैत्र १ देखि ९ गते सम्म अभियान संचालन हुनेछ। भने दोस्रो चरणको अभियान चैत्र १५ गतेदेखि २३ गतेसम्म संचालन गरिने भएको छ। दोस्रो चरणमा जिल्लाको छविसपाथिभरा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, साइपाल गाउँपालिका, दुर्गाथली गाउँपालिका र तल्कोट गाउँपालिकामा खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ। 

दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तरगत जिल्लाभरिमा झण्डै २४ हजार बालबालिकालाई खोप लगाइने जानाइएको छ। जन्मेको ९ महिनादेखि ५ वर्ष सम्मका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइने भएको हो। 

सरकार सन् २०२३ भित्रमा नेपाललाई दादुरा–रुबेलामुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियानमा जुटेको छ।